सर्लाही, चैत-१९, नेपाली रूपैयाँ २७ लाख ७५ हजार ९ सय ७० रूपैयाँ सहित सर्लाही प्रहरीले दुई जना हुण्डी कारेवारीलाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरी सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीका अनुसार हुण्डी कारोबार भईरहेको भन्ने सूचनाकाे आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-३ का २४ बर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई पक्राउ गरेको हाे ।


उनका अनुसार आईतवार दिउँसाे मलंगवा नगरपालिका-९ स्थित सडकखण्डमा शंकास्पद अवस्थामा कालो रंडको झोला पिठयूमा बोकेर हिँडेका राजालाई नियन्त्रणमा लिई उनको झोला चेक गर्दा एक हजार दरको एक हजार थान नेपाली नोट १० लाख रुपैंया बरामद्‌ भएको थियो ।
कमर राजाका साथबाट स्रोत खुलाउन नसकेको लक्ष्मी सनराईज बैंक लिमिटेडमा ९ लाख ९० हजार रुपैंया जम्मा गर्ने २ वटा भौचर समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त रकम अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको राजाले भनेपछि प्रहरी टोली मलंगवा- ९ स्थित उक्त पसलमा पुगेर खानतलासी गरेको थियोे ।


पसलमा खानतलासी गर्दा र्‍याकको भित्र रहेको खैरो रंगको झोला भित्र कालो प्लाष्टीकले बेरेको अवस्थामा १ हजार दरको १ हजार ४ सय ५४ थान, ५०० दरका ६२२ थान, १०० दरको १०९ थान, ५० र २० दरको एक/एक थान नेपाली नोट गरी जम्मा २७ लाख ७५ हजार ९७० रुपैंया बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रेस नाेटमा उल्लेख छ ।


पसल संचालक अंसारी लालबन्दी बजार स्थित आफ्नो अर्को पसलमा रहेको खबर पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई हिरासतमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।