ईश्वरपुर,फागुन १६—सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फुलजोरमा आइतवार पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा सटेको फुलजोर बस्तीका रमेश योन्जनकी छोरी अमिसाको डुबेर मृत्यु भएको हो । बालिकाको घर छेउमै निर्माणाधीन पानीको बोतल बनाउने उद्योगले खनेको खाल्डोमा डुबेर ज्यान गएको छ । दिउँसो १ बजेतिर डुबेर मृत्यु भएकी बालिकाको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारजनले बुझेका छन् ।
उता, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, मा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३५ प १६९४ नम्वरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको हो । दुर्घटनामा पैदल यात्री बागमती नगरपालिका ७ का ३० वर्षीय रवीन्द्र राय र मोटरसाइकल चालक हरिवन नगरपालिका ५ का १७ वर्षीय सुलभ बस्नेत घाईते भएका छन् । उनिहरुमध्ये पैदलयात्री रायलाई थप उपचारका लागि वीरगन्ज लगिएको छ भने मोटरसाइकल चालक बस्नेतको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ ।