
सर्लाही,चैत -७,सर्लाहीमा पत्रकारको नाममा असुली आंतक मच्चाई रहेका शंकर पहाडी (एसपी गौरव) लाई आज सर्लाही प्रहरीले पक्राउ गरेका छन । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं.१० घर भई हाल सर्लाहीको लालबन्दी ६ मा बस्दै आएका अन्दाजी ३२ वर्षीय गौरब भन्ने शंकर पहाडीले बा. २७ प २९५२ नम्बरको मोटरसाईकल ५० हजारमा बिक्री गरी ठगी गरेको आरोप छ । पहाडीले मोटरसाईकलको सवारी दर्ता किताव १ हप्ता पछि ल्याई सम्बन्धित निकायबाट नामसारी गरीदिने भने पनि मोटरसाईकलको सवारी दर्ता किताव सम्बन्धित व्यक्तिलाई नदिए पछि मोटरसाईकल अभियुक्त पहाडीको नाममा दर्ता नरहेकोले जाहेरीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवका प्रहरी निरीक्षक अनिल राज गिरीले जानकारी दिएका छन् ।

शंकर पहाडीले झुक्याई नगदरु. ५० हजार रुपैयाँ ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा पक्राउ गरी पहाडीलाई सर्लाही जिल्ला अदालतको मिति २०८०।१२।०५ गतेको प्राप्त पक्राउ अनुमति अनुसा आज लालबन्दी नगरपालिका वडा नं.६ लालबन्दी बजारबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुले जानकारी दिए ।
मुलकी अपराध संहिता २०७४ का अनुसार ठग्गी अपराधीक विश्वास घात तथा अपराधिक लाभ कसुरमा अधिकतमा ७ वर्ष सम्म कैद र ७० हजार जरिवाना हुने प्रवधान रहेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
पहाडीले यस अघि पत्रकारको नाममा आंतक मचाएको प्रशस्त उदाहरणहरु रहेको छ । ठाउँठाउँमा गएर व्यपारी, तथा सिमा नजिक रहेको प्रहरी पोष्ट तथा प्रहरीलाई धम्का्याई उनीहरू हरुबाट पैसा असुल्ने गरेको आरोप छ ।
पहाडी शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड भन्दै असुली धन्दा मच्चाएको समाचार सार्वजनिक भएका व्यक्ति हुन । ‘डिआइजीको बडीगार्ड हुँ’ भन्दै व्यापारीसँग रकम मोलमोलाई गरिरहेको अडियो अहिले पनि सुरक्षित रहेको छ ।
हामीले प्राप्त गरेको अडियोमा राससमा काम गर्ने एक पहाडी उर्फ (एसपी गौरव)ले ईन्दल नाम गरेका एक व्यापारीलाई फोन मार्फत प्रहरीको नाम लिँदै बार्गेनिङ्ग गरेका थिए ।
स्थानीय मधेशी भाषामै संवाद गरेका उनले आफू शसस्त्र प्रहरी मधेश प्रदेशको डिआईजीको बडीगार्ड भनेर परिचय दिएका थिए् । रोचक त के छ भने, गौरव असुली आतंककै कारण माओवादी निकट प्रेस संगठनबाट निस्कासनमा परेका व्यक्ति हुन् ।
पहाडीले लामो समयदेखि यसरी नै स्थानीयलाई त्रसित बनाउने गरेका छन् । त्यस्तै प्राप्त अडियो रेकर्ड अनुसार उनीहरुले लालबन्दीका ठाउँठाउँमा व्यापारीलाई भेट्न बोलाएका छन् । कहिले प्रहरीको बडीगार्ड त कहिले पत्रकारको नामबाट उनीहरूले सर्लाहीका विभिन्न सिमा नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न समान भित्राउने व्यापारी तथा स्थानीय निजी विद्यालयमा रकम असुलीकाे धन्दा गरिरहेको प्रसस्त गुनासो र प्रमाणहरू छन् ।
स्थानीय ब्यापारी र प्रहरीले गरेको गुनासोका आधारमा खोज्दै जाँदा हामीलाई प्राप्त भएको सूचना र अडियोबाट सरकारी समाचार माध्यम राष्ट्रिय समाचार समिति (रासस) मा जिल्लाबाट काम गर्ने पत्रकार शंकर पहाडीले ब्यापारीलाई फोन गरेर बार्गेनिङ गरेको खुल्छ ।

उनले सगरमाथा टिभिमा समेत काम गर्नेगरेको खुलेको छ । पहाडीले प्रहरी, रासस, तथा सगरमाथा टिभिको समेत नाम दुरुपयोग गरेर असुली धन्दा चलाएको पिडितहरूको गुनासो छ ।
जनताका गुनासा, सूचना र जनताका समस्याबारे आवाज उठाउने पत्रकारले नै विभिन्न नाममा व्यापारी र अन्यलाई धम्क्याएर पैसा असुली गरिरहेको भन्दै पहिलेदेखि नै स्थानीयले गुनासो गर्दै आइरहेका थिए । राससका प्रतिनिधि पहाडीले व्यपारीसँग अवैध रकम मागेको ७ वटा अडियो हामीलाई प्राप्त भएको छ ।
एउटा अडियोमा इन्दल नाम गरेको व्यापारीसँग गौरवले आफु डिआएजीको बडिगार्ड हो भन्दै पुकार, सरिता, संतोष, बिजय लगायत चार पाँच जना व्यापारीहरुले अवैध कारोवार गरेको भन्दै रकम मागेको सुन्न सकिन्छ ।
जवाफमा व्यापारीले आफु सानो व्यपारी भएको भन्दै गुनासो गरिरहेका छन् । पत्रकार गौरवले व्यापारी इन्दललाई गरेको फोनमा तपाईहरुको ठूलो गिरोह हो र सर्लाहीको बजारमा इन्दल, पुकार, सरिता, संतोष बिजय लगायतका व्यापारीहरुको अवैध सम्मानहरु छ्याप्छ्याप्ती भएको छ, यो सबै सशस्त्र प्रहरीमा जानकारी आएको छ’ भन्दै बार्गेनिङ गरेका छन् ।
अबैध सामान भित्र्याएबापत रकम नबुझाए प्रहरी खटाइ उक्त सामान जफत गरिने गौरवले व्यापारीसँग बताएका छन् । ‘कपडा, चिनि, लगायत विभिन्न सामग्रीहरु कुन–कुन नाकाबाट भित्रिएको छ, त्यो सबै हामीलाई जानकारी छ’ स्थानीय भाषामा गौरवले व्यापारीसँग भनेका छन् । ‘इन्दलजी तपाइको नाम डिआइजी साहेबको डायरीमा एक नम्बरमा छ, हामीलाई सबै जानकारी आएको छ ।
हाम्रो नाम दुरुपयोग गरी काम गर्ने भन्दै उनले बार्गेनिङ गरेका छन् ।एउटा पत्रकार जसले सत्य सूचना र जनताका समस्याको सही उठान गर्नुपर्ने हो, उसैले प्रहरीको समेत नामको दुरुपयोग गर्दै बार्गेनिङ गर्ने, रकम उठाउने जस्ता कार्यले सिङ्गो पत्रकारीताकै बदनाम गराएका छन्। असुली धन्दा मच्चाइरहेकै कारण पहाडीको सर्लाहीमा रहेर सञ्चारकर्म गर्ने प्रय: सवै पत्रकारसँग राम्रो सम्बन्ध छैन ।