हरिपुर,फागुन १६ – हरिपुर नगरपालिकाको चितायन स्थित मलिनिया सिंचाई आयोजना उपभोक्ता समिति र स्थानीय जग्गा धनी किसानबीचको द्वन्द्व रुपान्तरण छनौट चरण अन्तर्गत साझा सवालका प्रस्तावहरु पारित गरिएको छ ।
हरिपुर नगरपालिका की उप—मेयर प्रमुख रेणुका काफ्लेको प्रमुख आतिथ्यतामा कुलो तथा बाध निर्माण सम्बन्धमा देखिएको विवादमा आईतबार भएको छलफलले विभिन्न प्रकृयागत प्रस्ताव पारित गरेको हो । प्राकृतीक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्तर्गत माकुरा समुहको सहजिकरणमा हरिपुरका चिताएनमा गरिएको छलफलले सो प्रस्ताव पारीत गरेको रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।
विश्वकर्माका अनुसार उपभोक्ता समुहका अध्यक्ष कासी नारायण चौधरी र जग्गाधनी किसानका प्रमुख ब्यक्ति रामबिलास गिरी लगायत पक्ष तथा सरोकारवालाको उपस्थितीमा सर्वसम्मत साझा सवालका प्रस्तावहरु पारित गरिएको हो ।
ध्रुव नारायण चौधरीको अध्यक्षतामा भएको छलफलमा हरिपुर नगरपालिकाकी उप—मेयर प्रमुख अतिथी रहेका थिईन् । छलफलमा हरिपुर नगरपालीका वडा नं.७ का वडाध्यक्ष हृदय नारायण पंजियार, समाजसेवी गौरी शंकर धामी, रामबिलास गिरी,मैना देवी चौधरी,राम आशिष चौधरी, मनिलाल विश्वकर्मा,किरण थापा लगायतको उपस्थिती रहेको थियो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृया निश्कर्षमा नपुगेसम्म कुलो निर्माण कार्य सुचारु नगर्ने र हाललाई यथावस्थामा राख्ने, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृया अनुसार सबै पक्षको चित्त बुझेपछि मात्र सहमतिमा पुग्ने, वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षहरु सकृय हुने लगायत १२ बुँदे साझा सवालका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ ।