
सर्लाही,फागुन -८,जिल्लाको बागमती नगरपालिकाले बृहत सांस्कृतिक तथा शैक्षिक महोत्सव गर्ने भएको छ ।
बागमती नगरपालिका सभाहलमा आज (मंगलवार) पत्रकार सम्मेलनकाे आयोजना गरि नगरपालिकाले फागुण १२ गते नेपालमै पहिलो पटक गरिन लागेको वृहत महोत्सवकाे जानकारी दिएको हो ।
नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयको शैक्षिक स्तर उन्नतीका लागि गरिएका विभिन्न अभ्यासको प्रस्तुती समेत रहने गरी सम्मेलन आयोजना गर्न लागिएको नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए ।
महोत्सव बागमती नगरपालिका–११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना हुन लागेको हो ।महोत्सवको प्रधानमन्त्री पुष्प कमल दहाल(प्रचण्ड)ले उद्घाटन गर्ने मेयर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवबाट बागमती नगरपालिकाले शैक्षिक तथा सांस्कृतीक क्षेत्रमा गरेको अभ्यास देशैभरी प्रवाह हुने मेयर थापाको विश्वास छ ।
महोत्सवमा नेपालमै पहिलो पटक सामुदायिक बिद्यालयका ३००० छात्रछात्राहरुले एकै साथ नृत्य प्रस्तुत गर्ने छन् । यस्तै छात्रछात्राहरुले मानव चित्र, नेपालको नक्सा, झण्डा लगाएतको आर्ट समेत प्रदर्शन गरिने बताइएको छ।
नेपालको ईतिहासमा यति ठुलो संख्यामा बिध्यार्थीले प्रस्तुती दिने पहिलो प्रयास भएको नगरपालिकाका शिक्षा अधिकृत मिन प्रसाद उपाध्यायले दावी गरे ।

२५ लाख लागत अनुमान गरिएको एक दिने महोत्सवको २५ लाख स्थानीय अभिभावक लगाएतले अबलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा मार्फत बिध्यार्थीहरुले सातै प्रदेशको मौलिक पहिचान झल्कने भेषभुषा तथा नृत्य प्रस्तुत गर्ने आयोजक बागमती नगरपालिकाले जनाएको हो ।
महोत्सवको तयारी स्वरुप बागमती नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयहरुले समुदाय सगँ हातेमालो अभियान सुरुगरेका छन् ।
अभियानका क्रममा महोत्सवको बारेमा जानकारी गराउने तथा बिध्यालय सुधार अभियानको लागि मानापाथी सहयोग समेत संकलन गरिरहेका नगर शिक्षा शाखा अधिकृत उपाध्यायले जानकारी दिए । यसले समाज र बिद्यालय विच बढ्दै गएको दुरी कम हुने उनको विश्वास छ ।

पालिकाले सामुदायिक बिद्यालयका शैक्षिक गुणस्तर सुधार्न शिक्षा ऐन समेत लागु गरेको छ । सोही ऐन अनुसार पालिका भित्र कार्यरत कर्मचारी तथा निर्वाचित प्रतिनिधिका बालबालिका पाएक पर्ने सामुदायिक बिद्यालयमै भर्ना गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । जसअनुसार जनप्रतिनिधि तथा कर्मचारीहरुका बालबालिका सामुदायिक बिद्यालयमा अध्यन गरिरहेका नगरपालिकाले जनाएको हो ।
यस कार्यक्रम मार्फत सामुदायिक बिद्यालयहरु अब्बल बन्दै गएको संदेश समेत दिन सकिने आयोजकको कथन छ । आम जनमानसमा समामुदायिक बिद्यालय प्रतिको खस्कदो अवस्थाको दृष्टिकोण परिवर्तन आजको आवश्यक्ता भएको र यस्ता महोत्सव कोशेढ्ंगा सावित हुने वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिशेक घिमिरेले बताए । घिमिरेले केही समय देखी बागमतीमा शैक्षिक अवस्था सुधारका विभिन्न कार्यक्रम संचालन गरिरेहका छन् ।