सोम दियाली/सर्लाही
माघ- २५ ,प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले हरिवनमा पाँच दशक पुरानो द्वन्द रुपान्तरणको प्रक्रिया सुरु गरेको छ ।
हरिवन नगरपालिका ९ दनुवारीमा बाटोको विषयलाई लिएर जग्गाधनी किसानहरुबीच वर्षौदेखि कायम विवाद केन्द्रले गठन गरेको माकुरा समूहले द्वन्द रुपान्तरणको प्रक्रिया अनुरुप नै समाधानको प्रक्रिया थालेको हो ।
माकुरा समूहले सो विवाद समाधानको प्रक्रिया अन्तर्गत द्वन्दमा संलग्न पक्ष र सरोकारवालाहरुको खुल्ला धारणा संकलन गर्न बिहीबार दनुवारी स्थित उत्पन्नेश्वर महादेव मन्दिर प्राङ्गणमा संयुक्त बैठक आयोजना गरेको थियो ।


समुहले बाटोको बर्षौदेखिको विवादमा पक्षहरुले भोग्दै आएका समस्याहरु के–के हुन् ?  कसरी सहमति गर्दा सबै पक्ष जीतजीतको अवस्थामा पुग्छन् ? भनेर द्वन्दरतपक्ष र सरोकारवालाहरुसँग खुल्ला रुपमा धारणा संकलन गरेको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले जानकारी दिइन् ।


प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सहजीकरण गरेको बैठकमा पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती,हरिवन नगरपालिकाकी उपमेयर एवम् न्यायिक समिति संयोजक हरिमाया घलान, हरिवन ९ का वडा अध्यक्ष कोकिलानन्द उप्रेती, स्थानीय एवम् , पूर्व वडाअध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सिताराम पोखरेललगायत सरोकारवाला तथा द्वन्दमा संलग्न पक्षहरुको सहभागिता रहेको थियो ।


खुल्ला धारणा संकलन गर्न आयोजित बैठकमा ‘खाट’ विधिको प्रयोग गरी सबैको धारणा संकलन गरिएको थियो । सो क्रममा बाटोको विवादको सत्यतथ्य पत्ता लगाउन अमिन झिकाई विवादित सबै जग्गा नापचाँज गरिने र त्यसको निष्कर्ष आगामी संयुक्त बैठकमा प्रस्तुत गर्ने गरी वडाअध्यक्ष कोकिलानन्द उप्रेतीको संयोजकत्वमा ७ सदस्यीय जग्गा नापजाँच समिति बनाईएको केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले जानकारी दिइन् ।
खुल्ला धारणा राख्ने क्रममा सरोकारवालाहरुले बाटो सम्बन्धी विवादलाई लिएर पक्षहरुबीच ठुलो फाटो आईसकेको अवस्थामा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले काम गर्न थालेपछि आपसी मनमुटाव कम हुँदै गएको भन्दै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रलाई धन्यवाद समेत दिएका थिए ।
‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ समुदायमा देखिएका विवादलाई द्वन्द रुपान्तरणको प्रक्रिया अवलम्बन गरी समाधान गरिने भएकोले यो प्रक्रियाले सबै पक्षले जित्ने र सबै पक्षबीच आपसी सौहार्दता कायम हुने केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिइन् । दनुवारीको बाटोको विवादमा पनि यस्तै सौहार्दपूर्ण अवस्था आउने उनको  विश्वास छ ।