सर्लाही,माघ-२३, जिल्लाको मलंगवा नगरपालिका वडा नं-११ गम्हरीयामा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर घाइते वागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार उनको एलेक्स न्युरो अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हाे । मृतक घिमिरे नापी कार्यालय मलंगवामा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।


साेमवार राति करिब ८ बजे तिर सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी साेही दिसातर्फ आउदै गरेको उखु बाेकेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।


दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरसहित अन्य केहीकाे अवस्था चिन्ताजनक छ ।