
सर्लाही,पुस-२१,जिल्लाको बरहथवामा प्रहरीले चलाएको गाेली लागि स्थानीय युवा जयशंकर साहको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
हिजो (शुक्रवार) भएको झडपमा साहको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहनुभएको छ । यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।
नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको थियो। स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ ।

यता शनिवार बिहान पत्रकारहरू संग कुरा गदै बरहथवा नगरपालिकाकि प्रमुख कल्पना? कुमारी कटुवालले आफू वार्ताको माध्यमबाट समस्या समाधान तयार रहेको बताउनु भएको छ ।बरहथवा घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मलंगवामा सर्वदलिय बैठक सम्पन्न भएको छ ।
सर्वदलिय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारवाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय भएको हाे ।