राजु तामाङ/चन्द्रपुर
पुस- १९, ताम्सालिङ जागरण अभियानको आज दोस्रो दिन रौतहटको चन्द्रपुरमा कार्यक्रम सम्पन्न गरेको छ । ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौं भन्ने नारा सहित मधेस प्रदेशको जिल्लाहरुमा हिजोबाट तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको थियो । जस अनुसार बिहीवार चन्द्रपुरको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।


नेपाल तामाङ घेदुङ रौतहटको आयोजनामा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला घेदुङले जानकारी दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ताम्सालिङ संयुक्त संघर्ष समितिका सदस्य सचिव तथा घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रष्टाएका थिए ।
वर्तमान सत्ताबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएकोले ताम्सालिङ नै राष्ट्रिय मुक्तिको एकमात्र विकल्प रहेको कुरालाई जोड दिदै उनले सबैलाई ताम्सालिङ अभियानमा जुट्नका लागि आव्हान समेत गरे ।


कार्यक्रममा संघर्ष समितिका सचिवालय सदस्य बाबुराम लोप्चन, घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले, संघीय सदस्य राम बहादुर घलान, पुर्व केन्द्रीय सदस्य खड्ग बहादुर बोम्जन, घेदुङका पुर्व अध्यक्ष बाल कुमार रुम्बा, उपाध्यक्ष दुधराज बल (राजु) लगायत घेदुङका विभिन्न तहका अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रौतहट घेदुङ अध्यक्ष विरध्वज वाईबाकाे अध्यक्षता रहेको कार्यक्रममा संघीय सदस्य घलानले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव भुवल बहादुर वाईबाले सञ्चालन गरेका थिए । अभियान अन्तर्गत भोलि तेस्रो दिन बागमती प्रदेशको मकवानपुर जिल्लाको हेटौंडामा कार्यक्रम रहेको घेदुङले जनाएको छ ।