सर्लाही, पुस- ७,जिल्लाको चारओटा पालिकाको शैक्षिक स्तर सुधारमा समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना कोसेढुङ्गा सावित भएको छ ।
बर्दिवासस्थित एक होटलमा तीन दिने समीक्षा गोष्ठी मार्फत परियोजनाले परियोजना सञ्चालनपश्चात पालिकाहरुको शैक्षिक स्तरमा निकै नै परिवर्तन आएको जनाकारी दिएकाे हाे ।
एष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्डभिजन इन्टरनेशनल, वल्र्ड एजुकेशन, ह्याण्डीक्याप इन्टरनेशनल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)को साझेदारीमा जिल्लाको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकामा विगत ५ वर्षदेखि सञ्चालित परियोजना ती पालिकाहरुको शैक्षिक सुधारमा कोसेढुङ्गा सावित भएको हो ।


ती पालिकामा परियोजना सञ्चालन भएयता पालिकाको शैक्षिक स्तरमा सुधार आएको परियोजनाका सिनियर प्रोटेक्सन कोअर्डिनेटर आदित्य पटेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले १६ ओटा दुईकोठे कक्षा भवन र १७ ओटा विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण गरेका छौं । परियोजनाकै प्राविधिक सहयोगमा चारओटै पालिकाहरुमा बालसंरक्षण नीति बनेको छ । त्यस्तै पालिकाहरुले परियोजनाकै प्राविधिक सहयोगमा शिक्षा नीति बनाएका छन् भने परियोजनाले स्थानीय पाठ्यक्रम तयार गर्न र पाठ्यपुस्तक लेखनमा सहयोग गरेको छ ।’
त्यस्तै परियोजनाका संरक्षण संयोजक नागेन्द्र कुमार शाहले परियोजनाले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याउन परियोजनाले थुप्रै क्रियाकलापहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिकाई परियोजनाले खासगरी समावेशी शिक्षा सुदृढीकरणका लागि काम गरिरहेको छ । संगसंगै बाल संरक्षण र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पनि काम गरिरहेको छ ।’
उहाँले यो एउटा ठुलो परियोजना भएकोले यसले थुप्रै सेक्टरहरुलाई समेटेर काम गरिरहेको बताउनुभयो । उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, बाल अधिकार र संरक्षणको क्षेत्रमा काम गर्न परियोजनाले समुदायस्तरमा विभिन्न समूहहरु समेत निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले रुपान्तरण कक्षा, ‘र’ स्टेशन, सि चेन्ज, सिभिए जस्ता ग्रुपहरु बनाएर काम गरिरहेका छौं । यी सबै समुहले पढाईको वातावरण सिर्जना गर्नेदेखि लिएर बालबालिकाको संरक्षण र अधिकार स्थापित गराउन समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।’
परियोजना अन्तर्गत रुपान्तरण कक्षा चलाउँदै आउनुभएकी पिंकी रायले रुपान्तरण कक्षामा बालबालिकालाई जीवनपयोगी सिप र आत्मरक्षा सम्बन्धी सिप दिईने गरेको बताउनुभयो । उहाँले रुपान्तरण कक्षाबाट बालबालिकालाई आफ्नो अधिकार र कर्तव्यवारे जानकारी प्राप्त हुने बताउनुभयो ।
त्यस्तै समुदाय परिवर्तन समूहका सहजकर्ता मेथुल साहले समुदाय परिवर्तन समूहका कारण समुदायमा शैक्षिक वातावरण सिर्जना हुने गरेको बताउनुभयो । उहाँले सडक नाटक, र्‍याली, माईकिङ्ग लगायतका गतिविधिमार्फत समुदाय परिवर्तन समूहले शैक्षिक वातवरण तयार गर्ने गरेको बताउनुभयो ।
परियोजनाले सञ्चालन गरेको क्रियाकलापले बालबालिकामा मात्रै नभई स्वयम आफूहरुमा पनि परितर्वन आएको भन्दै परियोजनाकी सहजकर्ता शकुन्तलाधामीले बताउनुभयो । उहाँले आफूले सञ्चालन गर्ने ‘र’ स्टेशनले घर तथा समुदायमा शैक्षिक वातावरण बन्ने गरेको बताउनुभयो ।


त्यस्तै हरिपुर्वाकी संगिता महराले पनि सिकाई परियोजनाले बालबालिकालाई विद्यालयको पहँुचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । त्यस्तै परियोजनाले विद्यालयहरुमा विद्यार्थीहरुको गुनासो सुन्ने गरी गुनासो सुनुवाई समिति पनि बनाएको छ । यो समितिले बालबालिकाका समस्या र गुनासाहरुलाई सुनेर व्यवस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
त्यस्तै परियोजनाकी सहजकर्ता निर्मला चौधरी पनि परियोजनाको कामबाट आफू निकै खुशि भएको बताउनुहुन्छ । उहाँले परियोजनाले निकै राम्रो काम गरेको बताउनु भएको छ । उहाँले परियोजनाले सञ्चालन गरेको क्रियाकलापहरुबाट बालबालिकामा पढ्नुपर्छ भन्ने र अभिभावकमा पनि बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने ज्ञान भएको बताउनुभयो ।
गोष्ठीमा सहभागिहरुले परियोजनाले बनाएको जगलाई पालिकाहरुले निरन्तरता दिन सक्नुपर्नेमा जोड दिएका थिए । गोष्ठीमा वल्र्डभिजन इन्टरनेशनल, वल्र्ड एजुकेसन, ह्याण्डीक्याप इन्टरनेशनल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)सहित परियोजनाका साझेदार संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सो क्रममा परियोजनाका उपलब्धीहरुलाई सिलसिलेबार रुपमा प्रस्तुत गरिएको थियो ।