मलंगवा, फागुन ९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध आईतवार सर्लाहीसहित देशभर प्रदर्शन गरेको छ । संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।
सर्लाहीको सदरमुकाम मलंगवास्थित नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित जिविस चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
सभालाई प्रदेश सभा सदस्य बेची लुंगेली, नेतृ रन्जना सरकार, बिभा नेपाल, बरहथवा नगरपालिकाकी उपमेयर बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोत्तान लगायतले मन्तव्य राखेकाथिए। विनिता दाहालको सञ्चालन तथा पद्मा ठोकरले स्वागत मन्तव्य राखेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वोय लक्ष्मण पौडेल र अच्यूतम काफ्लेको समेत उपस्थिति रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृहरुले देशमा बलात्कारका घट्ना बढिरहँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको आरोप लगाए । प्रदर्शनकारीले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग गरिएको प्लेकार्ड बोकेका थिए ।