राजु तामाङ/ सर्लाही
मंसिर- २१, तामाङ पत्रकार संघको २० औं स्थापना दिवस सर्लाहीमा पनि मनाइएको छ । बिहीवार उ बागमती नगरपालिकाको पर्यटकीय स्थल भरत ताल (माछा पोखरी) लामा बर्गर हाउसमा शुभकामना आदानप्रदान गर्दै सर्लाही शाखाले कार्यक्रम गरेको हो ।
कार्यक्रम संघका सर्लाही शाखा अध्यक्ष चन्द्र बहादुर जिम्बाको अध्यक्षता र बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी मोक्तानले स्थापनाकाल देखि समुदायको हकहितका लागि काम गरिरहेकाले भन्दै संघको प्रशंसा गर्दै थप सक्रिय रहदै निरन्तरता दिन आग्रह समेत गर्नु भयो ।
सर्लाही जस्तो ठाउँमा तामाङ कुलमा जन्मिएर त्यसमाथि तामाङ पत्रकार भै काम गर्न जटिल रहेको र त्यस्तो समस्याको बाबजुद पनि काम गरिरहेकोले आउने दिनमा तामाङ पत्रकार संघ र पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।
संघका केन्द्रीय सदस्य राजु लो तामाङले केन्द्रमा संघको स्थापना भएको २० वर्ष भएपनि सर्लाही शाखाको स्थापना भने १० वर्ष पुगेको बताउनु भयो ।
वि. सं. २०७० सालमा तत्कालीन जिल्लाका विभिन्न रेडियोमा काम गर्ने सञ्चारकर्मीहरुको सानो भेलाबाट आफुहरुले सुरु गरेको र यहाँसम्म आइपुग्दा विभिन्न आरोह अवरोहहरु झेल्दै आएको भन्दै त्यतिबेलाका आफ्ना सहकर्मीहरुको स्मरण समेत गर्नु भयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य जयमान पाख्रिन, प्रदेश अध्यक्ष यमलाल गोले, जिल्ला अध्यक्ष बुद्ध लामा, बागमती नगर घेदुङका अध्यक्ष जय गोले, उपाध्यक्षद्वय सरिता घिसिङ, हिरालाल स्याङ्तान, बागमती नगरपालिका १ र २ का वडाध्यक्षद्वय क्रमशः गम्भीर सिं पाख्रिन, टेक बहादुर बल, राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जित बहादुर गोले काल्साङ छ्योइ खोर्लिङ गुम्बाका प्रमुख लामा. पाल्देन दोर्जे योन्जन, समाजसेवी व्यक्तित्व सन्त बहादुर थोकर, शिक्षक विकास जिम्बा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता थियो ।
हाल नेपालमा २२ वटा जिल्ला दुई प्रदेश बागमती र कोशी त्यसैगरी प्रवास दक्षिण कोरियामा शाखा विस्तार भैसकेको छ । स्थापना दिवसको अवसरमा सर्लाही सहित संघीय कार्यसमिति र देशै भरिका विभिन्न शाखाले आजै विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ ।
संघीय समितिले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्व. दिपेन्द्र दोङ पत्रकारिता स्मृति पुरस्कारको प्रदान गरि मनाएको हो । यश वर्ष स्व. दिपेन्द्र दोङ पत्रकारिता स्मृति पुरस्कारबाट गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सिवा तामाङलाई प्रदान गरिएको छ । पुरस्कार राशि नगद ५ हजार र सम्मान पत्र रहेको छ ।