सर्लाही,मंसिर -१७, जिल्ला सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय उद्घाटन गरिएको छ ।
कार्यालयको आइतवार दिउँसो मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गरेका हुन् ।मलंगवास्थित जिल्ला समन्वय समितिकाे कार्यालय भवनको भूइतलामा कार्यालय स्थापना गरिएको हो ।
मधेश प्रदेशका आठवटै जिल्लामध्ये मलंगवामा सातौँ कार्यालयको रुपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको बताउदै ,कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गरिने श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले बताए ।
कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब (ब्लु बुक) दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने मन्त्री सिंहले बताए ।मलंगवा कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उनले बताए ।
आइतवार औपचारिक रुपमा कार्यालय उद्घाटन गरिए गरिएको भएपनि सेवा प्रवाह हुन भने केही दिन लाग्ने यातायात व्यवस्था कार्यालय सर्लाहीका प्रमुख राकेश यादवले जानकारी दिए ।
कार्यालयको तत्काल आफ्नै ट्रायलफ सेन्टर नभएकाले जिल्लाका निजीट्रायल सेन्टरसँग समन्वय गरेर कार्य अगाडि बढाइने यादवले जानकारी दिए ।
कतै जग्गा प्राप्त भए आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले बताए ।
सदरमुकाम मलंगवामा कार्यालय स्थापना भएपछि यहाँका स्थानीयले यस् संगठन सम्बन्धित सेवा लिन बर्दिवास, जनकपुर, वीरगन्जलगायत स्थानमा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् ।
उद्घाटन कार्यक्रममा निवर्तमान रक्षामन्त्री तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेश प्रदेश सभाका सदस्यहरु जङ्गिलाल राय कौशलकिशोर राय, उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह र प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको आतिथ्यता रहेको थियो ।