फागुन ६ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्ले सुदखोरहरुको मिटर ब्याजबाट प्रताडित महिलाहरुको पक्षमा आवाज बुलन्द बनाउदै उनिहरुलाई न्याय दिलाएको बताएका छन् । बिहिवार श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले,वाग्ले वर्ग संघर्षको अभियान चलाउने योद्धारहेको तर्क गरे । वाग्लेको तेह्रौं पुण्यतिथिका अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिगाहमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनकारी एवं प्रतिगामी कदम विरुद्धको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै रहदा भएको केन्द्रीय सदस्य डाचाराज वाग्लेको मृत्युको घटना रहस्यमय भएको बताए ।
व्यक्तिगत कामका क्रममा वाग्लेको मृत्यु नभएको भन्दै अध्यक्ष प्रचण्डले समग्र नेपाली जनताको भविष्य निर्माणको आन्दोलन,प्रतिगामी कदम विरुद्धको अभियानको नेतृत्व गर्दैगर्दा वाग्लेको मृत्यु भएको बताउदै महान क्रान्तिकारी योद्धा वाग्लेको व्यवहार, आचरणबाट कम्युनिष्ट कार्यकर्ताले धेरै सिक्न जरुरी तर्क गरे ।
अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकीको संयोजकत्वमा पार्टीले गठन गरेको आन्तरिक छानविन समितिको प्रारम्भिक प्रतिवेदनले दुर्घटना रहस्यमय देखिएको भन्दै सत्यतथ्य बाहिर ल्याएर दोषि देखिए कानूनी कार्बाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे ।
अध्यक्ष प्रचण्डले मधेस केन्द्रित दलहरुलाई संयुक्त आन्दोलनका लागि अपिल गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू प्रधानमन्त्री हुदाँ संविधान संसोधनको प्रस्ताव लगेको स्मरण गर्दै अपुरो संविधान परिमार्जनकै पक्षमा आफुहरु रहेको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हत्या गरेर निरङ्कुशता लाद्न खोजेको उनको आरोप छ ।
श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीद्वारा संविधान कुल्चिने काम भएकाले आफूहरु यो कदमको विरुद्धमा उभिएको बताए ।
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षता एवं सचिव कमल बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा नेकपाका नेताहरु लिलामणि पोखरेल, विश्वनाथ साह, नागेन्द्र चौधरी सहित केन्द्रीय सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, बागमती, लालबन्दी, बरहथवा, हरिपुर नगरपालिकाका मेयर एवं उपमेयरहरु सहित हजारौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
श्रद्धाञ्जली सभा अघि अध्यक्षद्वयले मूर्तिया चोक स्थित हजारबिगाह मोडमा स्व. वाग्लेको प्रतिमा (शालिक) निर्माणको शिलान्यासमा गरेका थिए । लगतै स्व. वाग्लेको घरमा पुगेर परिवारका सदस्यसँग भेटघाट गरेका थिए ।
वाग्लेका श्रीमती र दुई छोरा छन् । सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा थिए भने अर्का छोरा नेपालमै छन् । वाग्लेको मृत्यु भएपश्चात जेठा छोरा पनि घर आईसकेका छन् ।