लालबन्दी,फागुन ५—पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकलाई मार पार्ने काम गरिएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बुधवार (आज) लालबन्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । जनज्योति क्याम्पस अगाडि नेविसंघमा आवद्ध विद्यार्थीहरु जम्मा भएर सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जलाएका हुन् । केन्द्रीय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बैतडीमा काँग्रेस नेता एनपी साउँद उपस्थित कार्यक्रममा नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको घटनामा विरोध जनाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए । पेट्रोलियम पदार्थको मूल्य गएरातीबाट लिटरमा दुई रुपैयाँ बढाइएको छ । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको ६७ रुपैयाँ कायम गरिएको छ ।