सर्लाही,मंसिर-५,जिल्लाको हरिपुरनगरपालिका-८,जुटपानीमा मंगलवार(आज ) स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ ।
लालबन्दी १ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको ना २ क ११० नम्वरको बसले किच्दा सोही विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका ८ वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको हो। तल झारेर गाडी अगाडि बढाउने क्रममा बालक चेपिएका थिए ।


अपरान्ह करिब ४ बजेकाे समयमा नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको दुर्घटनामा गम्भीर घाइते भएका बालक आदित्यलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।घाइते बालकलाई दुर्घटना लगत्तै विद्यालयकै बसमा राखेर बर्दिवास लगिएको थियो ।


दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा लिएको छ | दुर्घटनापछि आक्रोशित स्थानीय वासिन्दाले नवलपुर-मलंवा सडक अवरुद्ध पारेका थिए ।