सर्लाही,मंसिर-५,जिल्लाको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पाँच महिनादेखि गाउँसभा हुन नसक्दा विकास अवरुद्ध भएको बताएका छन् ।
असार १० गते भित्रै गाउँसभामा नीति, बजेट, तथा कार्यक्रम पेश गरी २५ गते सम्ममा पारित गरिसक्नुपर्ने भएपनि गापा उपाध्यक्ष गितादेवी महतोसहित केही वडाअध्यक्षहरुको असहयोगको कारण गाउँसभा नै हुन नसकेको उनको दाबी छ ।
मंगलवार दिउँसो गाउँपालिकाकाे सभा हलमा सपत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्ष महतोले भने, ‘पाँच महिनादेखि गाउँसभा हुन सकेको छैन । शिक्षक, कर्मचारीको तलब मात्रै हैन जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिकाहरुले पाउने सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ । सामाजिक सुरक्षाभत्ता रोकिँदा दशैं, तिहार तथा छठ समेत निरस बनेको छ ।’
उनले आफूले गाउँसभा गर्न पटक पटक प्रयास गर्दा पनि उपाध्यक्ष महतोको टिमले असहयोग गरेको बताए । ‘यो पाँच महिनामा हामीले पटक पटक गाउँसभा गर्ने प्रयास गर्याै । उहाँहरुलाई आफ्ना मागहरु स्पष्ट रुपमा राख्न र गाउँसभा सम्पन्न गर्नमा सहयोग गर्न पटक पटक आग्रह गर्याै, तर मान्नु नै भएको छैन ।’उनलेे भने ।
उनले बहुमतको दम्भ देखाएर उपाध्यक्ष जी ले विकास निर्माणको काममा अवरोग गरेको बताए । ,‘उहाँ आफै पनि एउटा जिम्मेवार पदमा हुनुहन्छ, जनतालाई उहाँले पनि जवाफ दिनुपर्छ,उनले भने । तर उहाँहरु आफ्ना माग पनि स्पष्ट राख्नुहुन्न अनि गाउँसभा पनि गर्न सहयोग गर्न हुन्न, यसरी त गाउँपालिका चल्दैन नि ।’
उनले गाउँसभा सम्पन्न गर्नका लागि उपाध्यक्षको टिमलाई मनाउन आफूले विभिन्न चरणमा छलफल राखेपनि उहाँहरु छलफलमै सहभागि नहुने गरेको भएपनि स्पष्ट माग नै नराखी गाउँसभा नै हुन नदिने भन्ने गरेको बताए ।
उनले उपाध्यक्षजीको टिमसँगभन्दा बाहेक पनि स्थानीय राजनीतिक दल, केन्द्रीय पार्टीपंक्ति र केन्द्रीय सरकार सम्म पनि आफूले गाउँसभाका विषयमा कुरा राखेपनि त्यो सफल हुन नसकेको बताए ।
भागबण्डा नमिलेर उहाँहरुले गाउँसभा गर्न नचाहेको भन्ने सुनिन्छ नि भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा गाउँपालिका अध्यक्ष महतोले बजेट निर्माणका नीति, निर्देशिकाको परिधीभित्र रहेर नीति, बजेट तथा कार्यक्रम बनाईने भएकोले भागवण्डाको प्रश्न नै नहुने बताए।
उनले आफूलाई असफल बनाउन उपाध्यक्ष जी को टिम लागेको दाबी गर्दै उनलेे भने ,‘उहाँहरु फ्रण्टमा देखिनुभएको हो । पर्दापछाडि त अरु नै खेलाडीहरु छन्, जसले मलाई असफल बनाउन चाहान्छन् ।’
उनले आफूले सामाजिक सुधार लगायतका थुप्रै राम्रा कामहरु गरेकाले पूर्व गापा अध्यक्ष लगायतका केही व्यक्तिहरु आफूविरुद्ध लागेको समेत आरोप लगाए ।
उनले ५ महिनादेखि गाउँसभा हुन नसक्नुमा आफू दोषी नभएपनि दोषजति सबै अध्यक्षलाई नै देखाउने भएकोले आफूले पत्रकार सम्मेलन गरेर गाउँसभा हुन नसक्नुको कारण सार्वजनिक गरेको बताए ।
उनले आफू सधैं जनताकै पक्षमा रहेकोले फेरी पनि आपसी समझदारी गरी अवरोध फुकाई गाउँसभा गर्न तयार रहेको बताउनुहुँदै गापा उपाध्यक्ष महतोसहितको टिमलाई सम्वाद र सहमतिमा आउन आग्रह गरे।