सर्लाही,कार्तिक -२५, नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -१ को महासमिति सदस्य निर्वाचनकाे मत परिणाम सार्वजनिक गरिएको छ ।
महासमिति सदस्य निर्वाचनमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्ष अर्थात् शेखर कोइराला समूहले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।
छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन प्रक्रियामा सहभागी भए पनि परिणाम भने मिश्रित आएको छ ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयद्वारा सार्वजनिक गरिएको मत परिणाम अनुसार महिला तर्फ रेखा जाेशी र लक्ष्मी प्रधान गाेले, खुला तर्फ प्रमाेद कुमार बराल, पम्फा लामा श्रेष्ठ ,याेगराज देवकोटा,रामचन्द्र चाैधरी र शेष सहदुल्लाह रहेका छन् ।
त्यस्तै खस आर्य तर्फ नवराज अधिकारी,आदिवासीजनजाति तर्फ शम्भुलाल श्रेष्ठ,मधेसी तर्फ रामबाबु साह र दलित तर्फबाट कुशबहादुर बिक निर्वाचित भएका छन् ।
जसमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा प्यानलबाट आदिवासी जनजातिमा शम्भुलाल श्रेष्ठ, खस आर्यमा नवराज अधिकारी, खुल्लामा प्रमोदकुमार बराल, शेष सहदुल्लाह, महिलामा रेखा जोशी, र मधेशीमा रामबाबु साह निर्वाचित भएका छन् ।
त्यस्तै संस्थापन इतर अर्थात् शेखर कोइराला समूहबाट महिलातर्फ लक्ष्मी गोले प्रधान प्रत्यक्ष खुल्ला तर्फबाट योगराज देवकोटा, रामचन्द्र चौधरी, पम्फा लामा श्रेष्ठ र दलितमा कुश वि.क.निर्वाचित भएका छन् ।
लालबन्दी -७ ,मा रहेको जानकी माध्यमिक विद्यालयमा शुक्रवार (हिजो ) भएको मतदानमा क्षेत्र नं.-१ मा रहेका ८९१ मतदाता( क्षेत्रीय प्रतिनिधि महाधिवेशन ) मध्ये ७७२ जना अर्थात ८६.६४ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।
मतदान अधिकृत यादवका अनुसार बिहान ९ बजेदेखि सुरु भई अपरान्ह ४ बजेसम्म चलेको मतदान मा ११९ जना भने सहभागी भएनन् ।
जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा जिल्ला अधिवेशनकै समयमा निर्वाचनबाटै र क्षेत्र नं. ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन भइसकेका छन् भने, क्षेत्र नं.- २ मा विवादका कारण टुंगो लाग्न सकेको छैन ।