विनय कर्ण/सप्तरी
राजविराज, फागुन ३ — नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओली सरकारको अनाडी ड्राईभर भएको आरोप लगाएका छन् । ओलीले असंवैधानि ढंगबाट संसद विघट्न गरेको उनको तर्क छ । ‘गाडी जस्तै ड्राईभर पनि राम्रो भए मात्रै गाडी चल्ने अन्यथा अनाडी ड्राईभरले दुर्घट्ना नै गराउँछ’ उनले भने ।
उपसभापति निधिले कम्युनिष्टलाई जनताले बहुमत दिनु नै गलत भएको उल्लेख गर्दे विगतमा भएको गल्तीलाई सच्याउनका लागि आउने चुनावमा काँग्रेस पार्टीलाई जिताउन जनता संग आग्रह गरे ।
राजविराजको राज रंगशालामा सोमबार प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघट्नको विरुद्धमा नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको जिल्ला स्तरीय विरोध सभा लाई सम्बोधन गर्दै उपसभापति निधिले आन्दोलन र निर्वाचन दुवैका लागि कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिए ।

जनता समाजवादी पार्टी प्रति लक्षित गर्दै निधिले मधेशवादी कुनै दल नै नभएको बताए । मधेशीको नाममा दल बनाएर नाम परिवर्तन गर्दै हिड्ने दलहरुले मधेशीका लागि केही गर्न नसक्ने बताए । काँग्रेस विना मधेश हुनै नसक्ने तर्क राख्दै उनले काँग्रेसले मात्रै मधेश र मधेशीको हित गर्न सक्ने जिकिर गरे ।

जिल्ला सभापति दिनेश यादवको सभापतित्वमा भएको विरोध सभामा नेपाली काँग्रेसका क्षेत्रिय सभापतिहरु, नगर सभापतिहरु लगायतका नेताहरुले संसद विघट्नको विरोधमा आफ्नो विचार व्यक्त गरे ।
विरोध सभा अघि काँग्रेका नेता तथा कार्यकर्ता विरोध जुलुसमा सहभागी हुँदै राजविराजको विभिन्न भागको परिक्रमा गरेका थिए ।
यसैबीच जनता समाजवादी पार्टी परित्याग गरेका ५५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ । उनीहरुलाई पार्टी उपसभापति विमलेन्द्र निधिले टिका तथा फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
यता सर्लाहीमा पनि नेपाली कांग्रेस सर्लाहीले विरोध सभाको आयोजना गरेको छ ।