लघुकथा
विवश पाैडेल…..✍️
सानो शिवराजले साेध्याे-“यसपालि पिङ कहाँ लगाउने ?”
“मितज्यूकाे घरनेर”- हरेन्द्रले भन्याे।
हरेन्द्रकाे मितकाे घरनिर तिलाेत्तमाकाे घर थियाे।
“हुर्रे” सानाे शिवराज खुसीले फुरुङ्ग भयाे।
सबैकाे सल्लाह तिलाेत्तमाकाे घरनेर पिङ लगाउने भयाे।
गाउँमा दुईजना शिवराज भएकाेले साना र ठूला शिवराज नाम राखिएकाे थियाे।
जसले उचालेपनि उचालिने भएकाेले हामी सानो शिवराजलाई जगशिवराज भन्थ्यौ।याे नामचाँहि साल्दाजुले जुराउनुभएकाे थियोे ।
तिलाेत्तमा हुर्केका केटाहरूकाे ढुकढुकी थिई।
दशैँमा पिङ लगाउने कुरा वर्षे छुट्टीमा नै तय हुन्थ्यो । कहाँ लगाउने भन्ने कुराचाहिँ कसले सबैभन्दा बढी पिङका लिङ्गा ओसारपसार गर्न भूमिका निर्वाह गरेकाे छ,उसैमा भर पर्थ्याे।
पिङ लगाएपछि शिवराजकाे बास पिङमै भयाे । चामल पखाल्न आएकी तिलाेत्तमातिर हेरेर शिवराज मस्किन्थ्याे,तिलाेत्तमा ठुस्किन्थी।
शिवराजले तिलाेत्तमाका दिदीका छाेराछाेरीलाई ढुक्कसँग आफैँ बसेर पिङ खेलाउँथ्याे।उनीहरू अघाएपछि बल्ल गाउँका अरू भुराले पालाे पाउँथे।
टीकाकाे पर्सिपल्ट साँझकाे कुरा हाे।पिङकाे पालाेकाे निहुँमा शिवराज र हरेन्द्रबिच तुफान पर्याे।झगडाकाे विषयचाहिँ तिलाेत्तमालाई पहिला पिङ खेलाउने कि रविनालाई पहिला पिङ खेलाउने भन्ने थियाे। विवादका मूल पात्र शिवराज र हरेन्द्र थिए।
भुराकाे बास पिङमा मात्रै भयाे भनेर बराल भिनाजुले हात्तीछाप छप्पल पड्काउँदै आएर हँसियाले पिङ काटिदिनुभयाे।
केटाहरू अमिलाे मुख लगाएर घर भएर फर्के।
भाेलिपल्ट बिहान तिलाेत्तमा पुलिससँग भागेकाे हल्ला गाउँभरी फिँजियाे।