लघुकथा
विवश पाैडेल….✍️
“बाबू खाजा खान जाने हाेइन?” नरपतिले शिवरामलाई डराइ डराइ साेधेकाे थियाे।
“दाइ म एक घण्टापछि वानेश्वर आइपुग्छु।” शिवरामले जवाफ दियाे।
ताेकेकाे समयमा दुवै ताेकिएकाे ठाउँमा भेट भए।वेटरले अर्डर गरेअनुसारकै सामान ल्यायाे।
नरपति अत्यन्तै परिश्रमी मान्छे ,उसलाई प्रायःजसो हरेक हप्ता साँझ रिनिक्क हुनुपर्ने ।खाजा खान छिरियाे,पण्डितकाे छाेराे सँगै छ।गाउँभरी हल्ला फिँजिने डर सुरक्षित छ।जे-सुकै हाेस् भनेर दुईसेट खाजा ,एउटा वियर र एउटा डिउ मगायाे।
शिवराम सानैदेखि भलाद्मी थियाे।एउटा छाेराे भइकन नबिग्रेकाे केटाे भन्थे गाउँघरतिर।पण्डितकाे छाेराे निकै कर्मकाण्डी पनि थियाे।आइ टी अफिसर भएपछि भने ऊ अलि बढी नै व्यस्त भयाे।चेलीबेटीकाे चङ्गुलचाँहि उसका लागि हाडे ओखर नै छ।
सामान ल्याएर वेटरले टेबुलमा राखिदियाे।दुवै फाेनमा व्यस्त थिए।
नरपतिलाई निकै अफ्ट्यारो लागिरहेको थियाे।शिवराम अत्यन्तै साेझाे,लप्पनछप्पन नगर्ने ,अत्यन्तै भलाद्मी केटाे थियाे।नरपति दाइले रक्सी खाँदा रहेछन् भन्याे भने बिउँठिएका बाउ झन् बिउँठिने छन्।बियर गिलासमा खन्याउने हिम्मत गरेकै थिएन।
फाेनमा कुरा सकिएपछि शिवरामले वियरकाे बिर्काे खाेल्याे।गिलासमा खन्याउँदै भन्याे-“चियर्स गर्न पाए त खुब मजा हुन्थ्याे,है दाइ ?
नरपतिले भन्याे-” हाे त नि!”
शिवरामले एक घुट्की चिसाे वियर घुटुक्क पारेर लामाे सास फेर्दै साेध्याे-“दाइ,तपाईंले आजसम्म वियर पनि पिउनुभएकाे छैन है?