सर्लाही,कार्तिक -३, हिन्दु नेपालीहरूकाे महान चाड दशैँमा पनि सरकारले उखु किसानलाई दिने भनेको अनुदान रकम नदिएपछि जिल्लाका उखु किसानले हरिवनमा प्रदर्शन गरेका छन् ।
विगतवर्षहरूमा चाडपर्व नजिक नजिक उखु किसानहरूलाई अनुदान रकम उपलब्ध गराउदै आएको सरकारले यसवर्ष भने अनुदान रकम नदिएपछि आक्रोशित किसानहरूले शुक्रवार (आज) हरिवन स्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् ।
सरकारले असोज २५ गतेसम्ममा अनुदान बापतकाे रकम सम्बन्धित जिल्लामा पठाउने आश्वासन दिएको भएपनि रकम नपठाएकाले प्रदर्शनमा उत्रनुपरेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए । उनले आज संकेतिक आन्दोलन गरिएको भएपनि दशैँपछि कडा आन्दोलन गर्ने चेतावनी दिए ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालका अनुसार सर्लाहीका लागि प्राप्त हुनुपर्ने २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ०३ पैसामध्ये हिजो सम्म ९ करोड रुपियाँ प्राप्त भएको छ ।
उनका अनुसार दशैँ लगत्तै बाँकी रकम प्राप्त भए दिपावली अघि किसानको खातामा पैसा पठाउन सकिनेछ ।
सरकारले गतवर्ष आर्थिक वर्षको उखु क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । जसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदान बापत उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।
सरकारले सहमतिकाे कार्यान्वयन नगरे पछि आन्दोलन सुरु गरेका किसानलाई स्थानीय प्रशासनले दशैँपछि अनुदान रकम उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगित भएको छ ।
आजबाट सुरु भएको आन्दोलनमा जिल्लाका सवै उखु किसानको ऐक्यवद्धता जनाएका छन् । आन्दोलनमा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, एमाले नेता डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान तथा जनप्रतिनिधिसहित राजनीतिक दलका नेता कार्यकर्ता समेत सहभागिता रहेको थियो ।