बागमती,फागुन २—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीको प्रचण्ड–माधव समूहले आफ्ना जिल्ला इन्चार्ज डाचाराज वाग्लेको स्मृतिमा शोक सभा गर्ने भएको छ ।
बागमतीमा बसेको पार्टीको जिल्ला कमिटीको बैठकले फागुन ६ गते दिवंगत वाग्लेको गाउँ हरिपुर नगरपालिका–१, हजारविगाहमा शोक सभा गर्ने निर्णय गरेको हो ।
प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष रेवती पन्तले एक प्रेस विज्ञप्ती प्रकासित गरी सभालाई पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल (प्रचण्ड) एवं माधवकुमार नेपालले सम्वोधन गर्ने जानकारी दिए ।(नेकपा)ले प्रेस विज्ञप्तीमार्फत वाग्लेलाई स्मरण गर्ने सबैलाई शोक सभामा उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।
माघ २१ गते साँझ संसद् विघटनको विरोधमा पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसमा सहभागी भई बागमती फर्केका वाग्ले सोही दिन राती मूर्तिया जंगलमा मृत फेला पर्नुभएको थिए ।
प्रहरीले वाग्ले दुर्घटनामा परेको जस्तो देखिएको बताएपनि पार्टीले भने उनको मृत्युलाई रहस्यमय भनेको छ । घटनाबारे सत्यतथ्य पत्ता लगाई यर्थात अवस्था सार्वजनिक गर्न र दोषी जो सुकै भएपनि कानुनको कठघरामा ल्याउन पार्टीले माग गरेको छ । घटनाबारे पार्टीले पनि आन्तरिक रुपमा अध्ययन गरिरहेको जिल्ला अध्यक्ष पन्तद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ । यता, प्रहरीले वाग्लेको मृत्यु प्रकरण अनुसन्धानमै रहेको बताएको छ ।