उदय पाख्रिन/सर्लाही
असाेज-२३, जिल्लाको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित पाँच वटा नीजि स्वास्थ्य संस्थाहरुलाई लालबन्दी नगरपालिकाकाे अनुगमन समितिले सिल गरेको छ । लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रिङको नेतृत्वमा पुगेको नगर अनुगमन समितिले लालबन्दी नगरपालिका १ स्थित नवलपुरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा कुनै पनि कागजात नरहेका उक्त स्वास्थ्य संस्थाहरुलाई सिल गरेको हो ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेका सर्लाही हेल्थ केयर सेन्टर प्रा.लि,रक्षा हेल्थ केयर सेन्टर प्रा.लि,ओमनिका हेल्थ केयर सेन्टर प्रा.लि र संजय कुमार औषधालयका कुनै पनि कागजातहरु फेला नपरेपछि सिल गरिएको लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले जानकारी दिए ।
उनका अनुसार नवलपुर मोडेल अस्पताल प्रा.लि,गुन्जन मेडिकल हल,वि एण्ड आर अस्पताल प्रा.लि,स्माईल डेन्टल क्लिनिक,मनिषा हेल्थ केयर प्रा.लि,टेक्सास हेल्थ केयर प्रा.लि,लक्ष्मी एक्सरे,सत्यनाम हेल्थ केयर सेन्टर प्रा.लि र दिपक प्राथमिक उपचार केन्द्रका सञ्चालकहरु अनुगमन आएको थाहा पाएपछि आफैँ बन्द गरेर भागेका छन् ।
२२ वटा नीजि स्वास्थ्य संस्था रहेको लालबन्दी नगरपालिका १ स्थित नवलपुरका भानु अन्जली अस्पताल प्रा.लि र गैर औषधालयका सबै कागजात रहेका अनुगमन समितिका सदस्य एवम लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक मुमताज मिक्रानीले बताए ।
उनका अनुसार जय भवानी हेल्थ केयर प्रा.लि र जय माता दी हेल्थ केयर सेन्टर प्रा.लिको ल्याबको कुनै कागजात नभएकाले सिल गरिएको छ, भने सर्लाही लाईफ लाईन अस्पताल प्रा.लिको ओ.पि.डि बाहेक अन्य सेवा बन्द गरिएको छ ।
यता,अनुगमनको क्रममा सिल गरिएका नीजि स्वास्थ्य संस्थाहरुको सवालमा नगरकार्यापालिकामा नगर स्वास्थ्य शाखाले प्रतिवेदन पेश गर्ने र नगर कार्यापालिकाको निर्णय अनुसार खुल्ने की सधैका लागि बन्द गर्ने भन्ने निर्णय हुने अनुगमन समितिका सदस्य लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम लालबन्दी नगरपालिका ४ का वडा अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए ।
यता,गत वर्ष पनि अनुगमन गर्दा वि एण्ड आर अस्पताल प्रा.लि र संजय कुमार औषधालय लगायतका नीजि स्वास्थ्य संस्थाहरुको कुनै पनि कागजात नभएको भन्दै सिल गरिएको थियो र तर रातारात पुन सञ्चालनमा आएर आफ्ना नियमित सेवा सञ्चालन गरि रहेका थिए । यस वर्ष पनि सोही घटना दोहोरिने हो की भन्नेमा चिन्तित रहेको स्थानीयको गुनासो छ ।