सर्लाही,असाेज-२१,जिल्लाको हरिपुर नगरपालिका कर्मचारीहरुले संघीय निजामती विधेयकको विरोध गर्दै संर्घष समिति गठन गरेका छन्।
उनीहरूले संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै शिक्षा शाखाका संयोजक नागेश्वर रायको संयोजकत्वमा संघर्ष समिति गठन गरेको प्रशासन शाखाका प्रमुख प्रशासन अधिकृत विनय पौडेलले जानकारी दिए।
उनीहरूले काठमाडौ जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउँदै पेनडाउन गरेर सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीले राखेका छन् ।
त्यसैगरी अस्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत माग राखेका छन।