जितेन्द्र कुशवाहा/सर्लाही
असाेज-१८,सन्तानको दीर्घ जीवन पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि विधि पूर्वक सुरु भएको छ ।
मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ सर्लाही महोतरी धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।
व्रत बस्नु अघि आजको दिन महिलाले नदी तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहनलाई चिउरा, दही,करा स्याई, अमोट,(आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछ ।
त्यसैगरी शुक्रवार (भाेली)बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी शनिवार बिहान ९ बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्ने चलन रहेको छ ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ ।
देवतालाई चढाएकै तेल आफ्नो सन्तानलाई लगाउन दिन्छन । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। साथै माछा मासु नखानेले आफ्नो इच्छा अनुसारको खाना पाईन्छ।
यो पर्व राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउकै हुन्छ।