लघुकथा

विवश पाैडेल…..✍️

आन्दोलन उत्कर्षमा पुगिसकेको थियाे।निर्दलीय पञ्चायती व्यवस्थाकाे पतन र बहुदलीय प्रजातन्त्रको उदय निश्चित भइसकेको थियाे।सरकारले आन्दोलन दबाउन कुनै कसर बाँकी राखेको थिएन।स्वतस्फूर्त रूपमा मान्छे सडकमा ओर्लिएका थिए।
पञ्चायती व्यवस्थाकाे पतनपछि जनताले शान्तिकाे श्वास फेर्न सक्छन् भन्ने बुझाइ धेरैको थियाे।
गाउँ – गाउँ ,बस्ती – बस्ती सबैतिर परिवर्तनको लहर देखिएकाे थियाे।
प्रधानपञ्च हिराकाजीले बहुदलीय व्यवस्थाकाे खूब खेदाे खन्थे।एकदिन उनले भनेका थिए- “हेर कान्छा,हामीले सकेसम्म याे व्यवस्था टिकाइरहनु पर्छ।यसैमा हाम्राे भलाई छ।”
उनका कुरा,बहुदलीय व्यवस्था ,पञ्चायती व्यवस्था आदिकाे बारेमा मलाई केही थाह थिएन।म यति बुझ्थेँ कि उनले आन्दोलन दबाउन आफ्नो भएभरकाे बलबुता प्रयाेग गरेका थिए।


सुराकी गर्ने,आफैले क्रान्तिकारी लुकाएर लुकाएकै ठाउँमा पुलिस पठाउने आदि आदि।
आन्दोलन नियन्त्रणभन्दा बाहिर गयाे।राजाले बहुदलीय व्यवस्थाकाे घाेषणा गरे।देशभरी खुसियाली छायाे।
भाेलिपल्ट जङ्गलछेउकाे फुटबल चाैडीमा विजयाेत्सव मनाउने निर्णय भयाे।
विजयर्‍यालीमा पञ्चायती व्यवस्था मुर्दावाद,बहुदलीय प्रजातन्त्र जिन्दावाद भन्दै सबैभन्दा ठूलाे झण्डा बाेकेर उनै प्रधानपञ्च हिराकाजी अघि अघि लागेका थिए।