सर्लाही,असोज-५,बिहिवार गणेश पुजाको मुर्ति सेलाउने क्रममा जिल्ला सदरमुकाम मलंगवामा दुई समुदाय बीच विवाद भए पछि बाकी रहेका मूर्तिहरू सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठककाे निर्णय अनुसार साँझ ६:५५ मा विसर्जन गरिएको छ ।


सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र(पन्जियार) थारुका अनुसार सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठककाे निर्णय अनुसार पूर्व निर्धारित समयमै मलंगवा नगरपालिका वडा नम्बर -४ मा रहेको कामद पाेखरीमा मूर्ति विसर्जन गरिएको हाे ।
उत्पन्न पारि स्थितिलाई सहज बनाउन आज(शुक्रवार) दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवामा सम्पन्न सर्वदलिय, सर्वपक्षीय समन्वय सहजिकरण बैठकले हिजो (बिहीवार) सेलाउन बाँकी रहेका सबै मुर्तिहरु एकै ठाउँमा राखेर आज साँझ ५ बजे देखि ७ भित्र सेलाउने सहमति भएको थियोे ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा हिन्दु – मुस्लिम दुवै समुदायका अगुवाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैंकमा ६ बुँदे सहमति भएको छ ।


बैठकमा हिजो (बिहीबार) सेलाउन बाँकी रहेका सबै मुर्तिहरु एकै ठाउँमा राखेर आज साँझ ५ बजेदेखि ७ बजे भित्र विसर्जन गर्ने,घटना सम्बन्धि सत्यतथ्य पत्ता लगाइ घटनाका दोषीलाई पक्राउ गरि हदैसम्म कार्वाही गर्ने,ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुको पहिचान गरि उक्त घटनाको दोषीलाई पक्राउ गरि कार्वाही गर्ने,मानवीय तथा भौतिक क्षति पुर्याउने ब्यक्तिहरुको पहिचान गरि निजबाटै क्षतिपूर्ति तिराउनुका साथै आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षबाट गम्भीरता पुर्वक आ-आफ्नो दायित्व निर्वाह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
बैठक चलिरहँदा दर्जनौंको संख्यामा आएका महिला तथा पुरुषहरुले कार्यालयमा ढुंगामुढा गरेका थिए।ढुंगामुढा गरिरहेका मानिसहरुको भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले २३ शेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।


घटनामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ का अमजद अली मिकरानी र अख्तर अली मिकरानी रहेका छन् ।उनीहरू दुबैजना दाजुभाइ हुन। प्रहरीले उनीहरूलाई घरबाट नियन्त्रणमा लिएको प्रजिअ यादवले जानकारी दिए।


दुई समुदाय बिच झडप सिर्जना गराउने दोषीहरुलाई कार्यवाहीको माग गर्दै आज(शुक्रवार)बिहानैदेखि नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत पर्ने मलंगवा नगरपालिकाको वडा न-१२ स्थित गम्हरिया चोक र कबिलासी नगरपालिकाको वडा न-१० स्थित सलेमपुर चेकमा त्यहाँका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।


सम्भावित घटनालाई मध्येनजर गर्दै मलंगवाको विभिन्न स्थानमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
परिस्थिति सान्य भइनसकेकाले प्रशासनले हिजो ( बिहिवार ) राति १० बजेबाट लगाएको अनिश्चितकालीन कर्फ्यू आदेश जारी राखेको छ ।