सर्लाही,असाेज-४, गणेश पूजाको मूर्ति सेलाउने क्रममा सर्लाही सदरमुकाम मलंगवामा बिहीवार राति तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ ।
केही समय अघि मलंगवा नगरपालिका वडा नं. ३ मा झडपको
स्थिति सिर्जना भएपछि प्रहरीले भीड नियन्त्रणका लागि केही शेल अश्रुग्याँस प्रहार गरेको थियो ।
मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी,ढुंगामुढा प्रहार,उचृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र मा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी कर्फ्यू आदेशमा उल्लेख छ ।
(पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उचृङ्खल गतिविधि गर्न नपाउने कर्फ्यू आदेशमा उल्लेख छ ।
२०८०।०६।०४ गते बिहीवार राती १०:०० बजे देखी अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू आदेश आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ ।
मलंगवामा यश अघि पनि पटकपटक मूर्ति सेलाउने क्रममा झडपको घटना हुदै आएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले यश अघि पनि कर्फ्यू आदेश जारी गरेको थियो ।