सर्लाही,असाेज-१,आज हरितालिका तीज सर्लाहीसहित देशैभर याे पर्व मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ ।


तीजको अवसरमा जिल्लाको लालबन्दीमा रहेको डुमडुमे देवालय परिसमा रहेको अक्लेश्वर महादेव मन्दिर , मुक्तेश्वर महादेव मन्दिर बरहथवा ईश्वरपुरकाे सागरनाथ महादेव मन्दिर,हरिवनकाे चतुर्भुजेश्वर महादेव मन्दिर ,हरिपुरकाे चितायन मन्दिरमा,काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।
हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ ।
निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।


आजै भगवान् विश्वकर्मा को पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ ।
सर्लाहीसहित देशका विभिन्न भागमा रहेका कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् ।


विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् ।वास्तु शास्त्रका पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । 
आजको दिन छिमेकी राष्ट्र भारत सहित सनातन हिन्दु धर्मावलम्बीकाे बसाेबाँस रहेका देशहरूमा पनि निष्ठा र भक्तिकासाथ विश्वकर्मा पूजा गरिदैछ ।


आजै चौठचन्द्र अर्थात् चौरचन पर्व पनि परेकाे छ ।मिथिलाञ्चलमा आज धुमधामका साथ याे पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण आज पर्व मनाइएको हो ।
मिथिलामा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने प्रचलन छ ।
सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाए पछि याे पर्व सकिन्छ ।