सर्लाही,भदौ -२८,जिल्लाको बागमती नगरपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ,भने तीनजना घाइते भएका छन् ।


बागमती नगरपालिका वडा नम्बर ८ गाजली चौकमा बिहीवार(आज) बिहान बा ३० प ९४०७ र विपरीत दिशाबाट आएको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर भएको दुर्घटनामा बागमती नगरपालिका-८ शंकरपुरका ५० वर्षीय गणेश कार्की मृत्यु भएको हाे ।
बिहान साढे ८ बजे भएको दुर्घटनामा बा ३० प नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका-८ शंकरपुरका ५० वर्षीय गणेश कार्की गम्भीर घाइते भएका थिए ।
घाइते कार्कीको हरिवनस्थित सरस्वती हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।


डिएसपी लामिछानेका अनुसार अर्को मोटरसाइकल सवार हरिवन नगरपालिका-१ का ३२ वर्षीय मुकेश कुमार साह , उनका श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी प्रिया कुमारी साह घाइते भएका छन् । उनका अनुसार प्रियाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । उनीहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।
मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।