कृष्ण थपलिया/सर्लाही

भदौ-२४,जिल्ला सुरक्षा समिति सर्लाहीले सदरमुकाम मलंगवामा तीन दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिकाे बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५। २४ गते विहान ८:०० बजे देखि मिति २०८०।०५। २७ गते राती १२:०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरेका हुन ।


प्रजिअ यादवद्वारा जारी निषेधाज्ञा आदेशमा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै, साविक मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) सिमा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने उल्लेख छ ।
दुई पक्षबीझ झडपकाे स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवार (हिजो) साँझ ५ बजेदेखि आईतवार (आज) बिहान ८ बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश भने हटाएको छ |


जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले निषेधाज्ञा आदेश जारी गर्दै,मुर्ती सेलाउने क्रममा (२०८० भाद्र २२ गते शुक्रवार) राती भएको अप्रिय एवम्‌ असमाजिक घटना प्रति दुःख व्यक्त गरेका छन् । निषेधाज्ञा मार्फत उनलेे धार्मिक, जातिय , सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
निषेधाज्ञा आदेशमा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक संम्पत्तिको सरक्षण, समाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरिएको छ ।
सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन निषेधाज्ञा मार्फत आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न भनिएको छ ।