लघुकथा
 

विवश पाैडेल……✍️

सरकारी जागिरमा नाम निस्किएपछि उनी भूइँ न भाँडामा थिए।मेरा पनि नाकका पाेरा घमण्डले अर्नाका जस्ता भएका थिए।हामी दुवैले ठूलाे युद्ध जितेकाे महसुस गरेका थियौँ ।विद्यालयमा धेरै शिक्षक भएकालेे हरेक दिन काेही न काेही अनुपस्थित हुन्थे र कक्षा खालि हुन्थ्यो ।

दाेस्राे घण्टी बजेपछि एकजना नयाँ अनुहारका मान्छे भित्र छिरेर हामीलाई प्रश्न गरे- ” सरहरूकाे लिजर घण्टी हाे?”मैले जवाफ दिएँ- “हाे सर।”उनले फेरि प्रश्न गरे-“हेड सर खाेइ त?”अर्को साथीले थाह नभएकाे भन्ने सङ्केत गर्दै मुन्टाे मात्र हल्लाए।
ती नयाँ मान्छे सरासर दस कक्षामा छिरेर गणित पढाउन थाले।
करिब पन्ध्र मिनटपछि निस्किए।कार्यालयमा छिरे अनि हाजिरी रजिस्टर पल्टाउन थाले। आफ्नाे डायरी पल्टाए र लेखे।
प्रधानाध्यापक अनुपस्थित ,कक्षा लथालिङ्ग ,चारजना शिक्षक पनि अनुपस्थित ,विद्यार्थीकाे पढाइ भद्रगोल ।
बल्ल हामीलाई थाह भयाे।उनी त अनुगमन गर्न हिँडेका विनि पाे रहेछन्।सबैकाे भालेसाताे गयाे।
सधैँ दस मिनेट ढिलाे गएर पन्ध्र मिनेट छिटाे निस्किने साथीहरूले पनि पुरै घण्टी पढाए।मेराे लिजर घण्टी थियोे ,चुप लागेर बसिरहेँ।
यत्तिकैमा हेडसर आउनुभयो ।विनिले अलि कडा स्वरमा भने-“यही हाे आउने बेला?”
म असहज मानेर बाहिर निस्किएँ।के – के कुरा भयाे कुन्नि बुझ्न सकिएन।हेडसरकाे इशारामा लेखापाल सरले दुई हजार खाममा राखेर दिनुभयाे। विनि मुसुक्क हाँसे।
आगन्तुक रजिस्टरमा ,विद्यालय राम्रोसँग सुचारू भएकाे,प्र अ लगायत सम्पूर्ण शिक्षकले समयकाे पूर्ण पालना गरेकाे र दुईजना शिक्षक विद्यालयकाे कामले बाहिर जानुभएकाे र दुईजना बैङ्क जानुभएको भन्ने व्याहाेरासहित अनुगमनकाे टिप्पणी लेखे ।(लालबन्दी,सर्लाही)