सर्लाही,साउन-२६,जिल्लाको लखनदेही नदीको पुल मुनि धारिलो हतियारले काटेर फालेको पुरुषको टाउकाको पहिचान खुलेको छ।
टाउको भारतीय नागरिक नागरिक २३ वर्षीय अभिशेष राजको भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
भारत सितामाढी जिल्ला मनियारी घर भएका अभिशेष साउन २० गते साथीसँग घुम्न सर्लाही आएका थिए।

उनीसँग सर्लाही घुम्न आएका अन्य तीनजना अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएकाले अभिशेषको हत्या साथीहरुले नै गरेको हुनसक्ने सर्लाही प्रहरीकाे अनुमान छ।
भारतबाट सर्लाही आइपुगेका मृतक अभिशेषका बाबु राम दिवाकर सहित आफन्तले टाउको अभिशेषको भएको बताएका छन्।

मृतक अभिशेषको बाहिर कतै हत्या गरेर टाउको मात्र लखनदेही नदीमा फालेको हुनसक्ने प्रहरीकाे अनुमान छ। प्रहरीले टाउको भेटिएको आसपासको क्षेत्रमा मृतकको शव खोजी गरिरहेको छ।
हिजो बिहीबार बिहान स्थानीयले काटिएको पुरुषको टाउको बालुवामा छोपिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक अभिशेकसगै नेपाल आएका अन्य तीन जना परिवारको सम्पर्क नआएकाले भारतीय प्रहरीसँग समन्वय गरि थप अनुसन्धान अघि बढाउने सर्लाहीका प्रहरी प्रमुख एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए ।