सर्लाही,साउन-२३,जिल्लामा अविरल वर्षासँगै  बागमती नदीमा आएको बाढीले  बगाउँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको गढीमाई नगरपालिका–२ का  ६६ वर्षीय शहीद रायलाई  बागमती नदीमा आएको बाढीले बगाउँदा ज्यान गएको हाे ।


पुल तर्न लाग्दा रायलाई नदीले बगाएपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका रायलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
सर्लाहीको  हजरियामा स्थित  खेतमा काम गर्न आउँदा उनलाई  नदीले बगाएको स्थानीयले बताए।
यता  लखन्देही नदीमा आएको बाढीले सर्लाही कौडेना गाउँपालिकाको केही वडा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका  प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियारले जानकारी दिए। अविरल वर्षा र बाढीका कारण जिल्लाका चुरे क्षेत्रमा बसाेवास गर्ने नागरिककाे यातायात सम्पर्क टुटेको छ ।