सर्लाही,साउन-२०,नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेती उल्लेख्य सख्याका नेता कार्यकर्तासहित शनिवार (आज) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जिल्लाको हरिवनमा आयोजित एक कार्यक्रममा ३ सय भन्दा धेरै नेता कार्यकर्ता पार्टीमा आएका एमाले नेता चूडामणि वाग्लेकाे दाबी छ ।


उनका अनुसार पार्टीका केन्द्रीय सचिव एवम् मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेतीसहितका नेता, कार्यकर्तालाई आज खादा र अविर लगाएर एमालेमा भित्र्याएका हुन ।
कार्यक्रममा बोल्दै भट्टराईले पार्टी प्रवेश गर्ने सबै नेता कार्यकर्तालाई सात दिन भित्र जिम्मेवारी दिन जिल्ला अध्यक्ष राज नारायण साहलाई निर्देशन दिए ।
एमालेमा रहदा जिल्ला पार्टी संयोजक भइसकेका उप्रेती जिल्लामा लोकप्रिय नेता मानिन्छन् । उनी पूर्व प्रदेश सभा सदस्य पनि हुन ।
कर्यक्रममा वोल्दै उप्रेतीले एकीकृत समाजवादीको नीति र सिद्धान्त कम्युनिष्ट आन्दोलन विरोधी, कार्यकर्तालाई दिंग्भ्रमित वनाउने र गन्तव्य विहिन भएको देखिएपछि आफुसहितका साथीहरु नेकपा एमालेमा नै फर्कने निर्णयमा पुगेको बताए ।
उप्रेतीसँगै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठन र स्थानीय नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका वाग्लेले जानकारी दिए।


प्रदेश कमिटी सदस्य खड्ग वहादुर उप्रेती, कृष्ण कुमार श्रेष्ठ, हुद्धराज उप्रेती, जिल्ला उपसचिव उत्तर कुमार मैनाली सहित आजै उपस्थित भएर प्रवेश गरेका छन् भने कतिपय नेताहरु बाहिर भएकाले आज उपस्थित हुन नसकेका जनाइएको छ ।
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य कल्पना कटुवाल एवम् कमलादेवी महतो, प्रदेश उपाध्याक्ष रेवती पन्त, पूर्व नगर प्रमुख गणेश प्रसाई, जिल्ला उपाध्याक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखेका उक्त पार्टीले जनाएको छ ।
उप्रेतीको एमाले प्रवेशले हरिवन क्षेत्रका कार्यकर्ताहरु उत्साहित भएका छन ।