मलंगवा,माघ २९ – सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक राकेश अग्रवालले बुधबार सम्ममा १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खाता मार्फत भुक्तानी गरेका छन् ।
किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नगरेर ठगी गरेको आरोपमा पक्राउ परेका अग्रवालले उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
सर्लाही प्रहरीको हिरासतमा आउनु अघि नै अग्रवालले किसानलाई १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैंया बुझाईसकेका थिए । सर्लाही प्रहरीको हिरासतमा रहदै गर्दा उनले बुधवार आफ्नो बैंक खातामा ८ करोड ८० लाख ५५ हजार ५६१ रुपैंया जम्मा गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्र अनुसार अग्रवालले सर्लाहीका उखु किसानलाई १७ करोड सात लाख रुपैंया तिनुपर्ने थियो । अग्रवालले खाताबाट मंगलवार सम्म २ करोड १० लाख ६३ हजार ८१५ रुपैंया तथा बुधबार २ करोड ३२ लाख ८० हजार ७१ रुपैंया बाँकी वक्यौता रहेका किसानको खातामा जम्मा भईसकेको छ । तथ्यांकका आधारमान्दा सर्लाहीका किसानको सम्पूर्ण रकम भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौर भनाई छ ।
कोही उखु किसानको रकम बाँकी हुनसक्ने भन्दै सरकारले रोक्का राखेको अग्रवालको बैंक खातामा ४ करोड ३७ लाख ११ हजार ६६७ रुपैंया बाँकी रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
भुक्तानी लिन बाँकी रहेकाकिसान प्रमाण सहित आएको खण्डमा अग्रवालको सोही खाताबाट किसानको बाँकी भुक्तानी गरिदिने प्रहरी उपरीक्षक राठौरले भनाई छ ।
तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको र थप कसैको तिर्न बाँकी भए बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याउनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) अग्रवाललाई माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई आवश्यक कार्बाहीका लागि माघ १५ गते साँझ सर्लाही ल्याईएको थियो । अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले पठाएको हो ।अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा सर्लाही प्रहरीले जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।