अम्बिका बुढाथोकी/ सर्लाही
असार-२१,जिल्लाकाे लालबन्दी नगरपालिकामा पहिलो पटक गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरकाे सहयोग तथा हरिपुर-१ मा रहेको मनकामना सामुदायिक सञ्चार संस्थाको आयोजनामा लालबन्दी- ६,स्थित नगरपालिकाको पुरानो कार्यालय भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।


लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन र विभिन्न वडाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको आतिथ्यता रहेको कार्यक्रममा नगरका विभिन्न वडाका नागरिकको थियो ।
कार्यक्रममा नागरीक तहबाट आएको गुनासोहरुको सम्बोधन गर्दै नगर प्रमुख (मेयर) बासुदेव अधिकारीले लालबन्दीको सर्वाङ्गिण विकासमा आफूहरु लागि परेको बताए ।


कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख अतिथी समेत रहेका अधिकारीले जिल्लाकै सबैभन्दा ठुलो क्षेत्रफल भएको लालबन्दीमा ईलाका प्रशासन कार्यालय, नापी, मालपोत जस्ता महत्वपूर्ण सकारी कार्यालय ल्याउने प्रयास भइरहेको बताए । उनले भने,‘जिल्लाकै ठुलो क्षेत्र यहाँ हामीले नापी, मालपोत, ईलाका प्रशासन जस्ता महत्वपूर्ण सरकारी कार्यालयहरु ल्याउने प्रयास गरिरहेका छौं । त्यसका लागि नगरको १७ नम्बर वडा रानीगञ्जमा जग्गा प्राप्तीको काम समेत भएको बताउँदै मेयर अधिकारीले यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै उनले लालबन्दीको विकास कसरी गर्ने र यहाँका विकासलाई कुन तह सम्म पुर्यायाउने भन्ने कुरामा नागरीकले सकारात्मक सुझाव दिनु आवश्यक रहेको भन्दै आफूले नगरपालिकाको चौतर्फी विकासका लागि काम गरिरहेको बताए ।


उनले आफू पदमा नरहँदा पनि लालबन्दीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराएको, शिक्षा क्षेत्रमा राम्रै काम गरेरको बताउँदै अहिले पनि शिक्षाको थप विकासका लागि मेघा विश्वविद्यालयको अवधारणामा काम गरिरहेको, काठमाण्डौ विश्व विद्यालयसँगको समन्वयमा कृषि क्याम्पसको काम भइरहेको बताए । उनले आफ्नो कार्यकालभित्र लालबन्दीलाई विपी राजमार्गसँग जोड्न सक्नेमा विश्वस्त रहेको बताए । त्यस्तै यहाँ सुविधा सम्पन्न नगर अस्पताल, राष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माणको काममा पनि आफूहरुले काम गरिरहेको बताए । उनले युवाहरुलाई पनि विकासको काममा सँगसँगै जोड्दै लैजाने योजना अनुरुप लागूपदार्थ दुव्यर्सनी निवारणका लागि काम गरिरहेको बताए ।


कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईंटेलले नागरीकको प्रत्यक्ष गुनासो तथा सुझाव प्राप्त गर्न सकिने यस्ता गुनासो सुनुवाईका कार्यक्रमहरुलाई संस्थागत गर्नुपर्ने बताए । उनले भने, ‘यो लालबन्दी नगरपालिकाले पहिलो पटक सुरु गरेको कार्यक्रम हो । अहिले यो कार्यक्रम हुनु भनेको अब नागरीकका गुनासो सुन्ने क्रमको सुरुवात भएको मान्नुपर्छ । यस्ता कार्यक्रमलाई पालिकाहरुले निरन्तरता दिँदै संस्थागत गर्नुपर्छ ।’उनले गुनासो सुनुवाई कार्यक्रम भनेकै आफूले चुनेर पठाएका जनप्रतिनिधिहरुले राम्रो काम गरे गरेनन् भनेर मापन गर्ने माध्यम नै गुनासो सुनुवाई कार्यक्रम भएकोले यस्ता कार्यक्रमले नागरीक र जनप्रतिनिधिलाई जोड्न पुलको काम गर्ने बताए ।


उनले लालबन्दी नगरपालिकाले नागरीकको प्रत्यक्ष गुनासो लिने कार्यले नगरको विकासमा सहयोग पुग्ने भन्दै गुनासो सुनुवाईका कार्यक्रमलाई अझै व्यापक बनाउँदै लैजाने योजना सुनाए ।
त्यस्तै कार्यक्रममा आएका गुनासोहरुको सम्बोधन गर्दै लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, वडाअध्यक्षहरु गोरख बहादुर बल, शिवकृष्ण वैद्य, छेनामसिंह घिसिङ, तोप बहादुर श्रेष्ठ, शुक्रबहादुर लामा, लालबहादुर योन्जन, नारायण अधिकारी लगायतले पनि आफूहरुले अहोरात्र जनचाहाना अनुसारकै काम गरिरहेको बताए । उनीहरुले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, विजुली, खानेपानी जस्ता नागरीकका मूलभूत आवश्यकतालाई प्राथमिकतामा राखि काम गरिरहेको बताए ।


पत्रकार सोम दियालीले सहजीकरण गरेको गुनासो सुनुवाई कार्यक्रममा आयोजक संस्थाका तर्फबाट अध्यक्ष रामबाबु खड्काले स्वागत मन्तव्य राखेका थिए भने नागरीकका तर्फबाट ईरफान अन्सारी, खेम थापा, शुक्र बहादुर थिङ्ग, उद्धव पौडेल, विना घिमिरे लगायतले नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु समक्ष आफ्ना गुनासाहरु राखेका गुनासो सुनुवाई कार्यक्रमका संयोजक पत्रकार कृष्ण थपलियाले जानकारी दिए ।