सर्लाही,असार -१९,नेकपा एमालेका नेता योगेश भट्टराईले मैथल साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको बताएका छन् ।


उनले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा पनि विद्यापतिको महत्ववारे जानकारी दिनु पर्ने बताए  ।
मंगलवार जिल्लाको हरिवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने–“मैथल भाषामा महाकवि विद्यापतिको ठुलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।” उनले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने बताए ।


हरिवन – ८ ले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै,उनले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफु अझ प्रफुल्लित हुने धारणा राखे ।
नेकपा एमालेका केन्द्रीय सचिव र पहाडि जिल्ला ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले उक्त पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन् ।
नेपाल वहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको बारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनु पर्ने उनको तर्क थियो । “म केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा पुगे त्यहाँ मधेशका शिक्षक साथीहरू भेट्दा आनन्द आयो ।” भट्टराईले भने– “पहाडको वारेमा उहाँहरुले धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि वुझौ ।”
आफु मन्त्री भएको वेला इलामको सुर्योदय नगरपालिकामा विद्यापतिको शालिक वनाउन वजेट पठाएको उनले स्मरण गरे । भट्टराईले देशको सन्दर्भमा मधेश र पहाडलाई अलग अलग ढंगले वुझ्न नहुने वरु थप सुमधुरता बढाउदै लानु पर्ने बिचार व्यक्त गरे ।

मधेश र पहाडको महत्ववारे प्रष्ट पार्दै उनले भने,“विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग भएकोले प्रशिद्ध जानकी मन्दिर र जनकपुरको अतित्व छ अनि जनकपुर र जानकी मन्दिर नेपालमा भएकैले सगरमाथाको पनि अस्तित्व छ ।” हिमालको अस्तित्व नभएको भए जनकपुरको अतित्व नहुने र जनकपुर नभएको भए हिमाल नहुने उनको वुझाई थियो । हिमालको शुद्ध पानी, तराईको उर्वर जमिन र पहाडको जडिवुटी हाम्रा अन्योन्याश्रित सम्वन्धका प्रतिक भएको भट्टराईकाे बुझाइ छ ।
शालिक अनावरण कार्यक्रममा पूर्व मन्त्री हरि प्रसाद उप्रेती,मधेस प्रदेशका पूर्व सभासद् डिल्ली उप्रेती,हरिवन नगरपालिका का प्रमुख (मेयर ) कमल बुढाथोकी,उपमेयरलगायतकाे सहभागिता रहेको थियो ।