लालबन्दी,असार-११,लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीको आयोजना तथा आइडियल को.एड. एकेडेमी लालबन्दी -९,बस्तीपुरको तत्त्वावधानमा ‘लालबन्दी नगर विद्यालयस्तरीय कविता प्रतियोगिता – २०८०‘ कार्यक्रम साेमवार सम्पन्‍न भएको छ ।


लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्व, लालबन्दी नगरपालिकाका प्रमुख(मेयर) बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा  लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलको विशिष्ट आतिथ्य रहेको थियो ।
सामुदायिक तथा संस्थागत गरी तेह्र माध्यमिक विद्यालयहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
प्रतियोगितात्मक कार्यक्रममा जनज्योति नमुना माध्यमिक विद्यालयकी कक्षा दशमा अध्ययनरत छात्रा अश्रु दाहालको कविता ‘प्रश्‍नै प्रश्‍नबिच म’ शीर्षकीय कविताले पहिलो स्थान हासिल गरेको छ। 
एभरेस्ट एकेडेमीकी छात्रा प्राप्ती कार्कीको ‘समय’ शीर्षकको कविताले दोस्रो स्थान प्राप्त गरेको छ भने दिव्यज्योति माध्यमिक विद्यालयका छात्र संयोग घिमिरेको ‘ऊ केटो’ शीर्षकको कविताले तेस्रो स्थान प्राप्त गरेको छ।


नवजीवन विद्याश्रम माध्यमिक विद्यालयकी छात्रा प्रिन्सा काफ्लेको ‘जङ्क फुड’ कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको कार्यक्रमका संयोजक तथा वाङ्‌मय परिषद्का सचिव सुमन घिमिरे अग्रिमले जानकारी दिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। लालबन्दी नगरपालिकाको साहित्यको विकासमा लालबन्दी नगर वाङ्‌मय परिषद्ले खेलेको भूमिका उल्लेख्य रहेको  नगर प्रमुख अधिकारीले बताए। कार्यक्रमको सहजीकरण सर्लाहीका लाेकप्रिय  कवि तथा गजलकार विवश पौडेलले गरेका थिए।