सर्लाही,असार-९,नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीको अवको अभियान मिसन १ सय ५० रहेको वताएका छन्। आज सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले अभियान बारे बताएका हुन।

उनले २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभामा एक सय ५० सीटको वहुमत ल्याएर सरकार वनाउने नेकपा एमालेको अभियान भएको बताए  ।
पार्टीको मधेश प्रदेश इन्चार्जसमेत रहेका भएका भट्टराईले एमाले वाहेकका गठवन्धनहरुले देशलाई बर्बाद  गर्ने भन्दा अरु काम गर्न नजानेको आरोप लगाए । मधेश प्रदेशका आठ जिल्लाका १ सय भन्दा वढि पार्टी निकट संचारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको भेला लालवन्दीमा सम्पन्न भएको मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि वाग्लेले जानकारी दिए ।
उनका अनुसार भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, सचिव गगन विष्ट, पार्टी मधेश प्रदेश अध्यक्ष रामऔतार यादव, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेत लगायतले सम्वोधन गरेका थिए ।


प्रदेश प्रचार विभाग प्रमुख सोम प्रसाद शर्माको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका मधेश प्रदेशका जिल्लाका अध्यक्षहरुले स्थानीय वस्तुस्थितीवारे जानकारी गराएका थिए ।
एमालेको मधेश प्रदेश प्रचार विभाग हेर्ने विशेष जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य अरविन्द सिंहले मधेश प्रदेशमा पार्टीले चाडै योजनावद्ध रुपमा प्रचार कार्यलाई अगाडी वढाउने जानकारी दिए ।
कार्यक्रममा रौतहट घर भएका पत्रकार शैलेन्द्र गुप्ताले समाजबादी प्रेस संगठनको केन्द्रिय सदस्य परित्याग गर्दै प्रेस चौतारीमा फर्किएको घोषणा गरेका थिए ।
मधेश प्रदेशमा इन्चार्ज भएर आएका पार्टी केन्द्रीय सचिव भट्टराई केही दिनदेखि मधेश प्रदेशका पार्टी कार्यक्रममा व्यस्त  छन्। भोली हरिवनमा सर्लाहीका पार्टीका मुख्य जिम्मेवार नेताहरु विच भावि योजना निर्माणको विषयमा वैठक हुने प्रचार विभाग सचिव वाग्लेले जानकारी दिए ।