बागमती,जेठ—२४, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा बागमती नदीमा मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरेका छन् ।
सर्लाही र रौतहटको बिच भाग भएर बग्ने बागमती नदी (नुनथरमा) बुधबार बिहान उद्धार अभ्यास गरिएको हो । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिको आयोजिनामा संयुक्त उद्धार अभ्यास गरिएको हो।
मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको प्रदेशभित्र उद्धारका सरसामग्रीको अभाव हुन नदिन केन्द्र सरकारसँग समेत माग गरि प्रदेश सरकारले व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत प्रदेशका ८ वटै जिल्लाका अधिकारीहरुको सहभागिता रहेको थियो ।
सुरक्षा निकायका संयुक्त टोलिले बागमती नदीमा जलजन्य विपद्मा परेका व्यक्तिको नमूना उद्धार अभ्यास प्रदर्शन गरेर सहभागीलाई देखाएका थिए । प्रमुख अतिथि यादवलगाएतका सहभागिहरुले सुरक्षा निकायले प्रदर्शनमा राखेका उद्धार सामग्रीको अवलोकन गरेका थिए ।