सर्लाही,जेठ-२२,जिल्लाकाे ईश्वरपुरमा रहेको श्री ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगरले विद्यालयमा ‘पर्यावरण संरक्षणका लागि चेतना कार्यक्रम’ सम्पन्न गरेको छ।
विश्व वातावरण दिवसको अवसरमा विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो। प्रमुख अतिथि ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले विभिन्न प्रजातिका बिरुवा राेपेर कार्यक्रमकने उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले ईश्वरपुर नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई वातावरण तथा बालबालिकामैत्री विद्यालय बनाउने उद्घोष गरेका छन्। विद्यालयको वातावरण संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा आचार्यले विद्यार्थीलाई वातावरण संरक्षण चेतना अभिवृद्धि गराउन सकियो भने वातावरण संरक्षण नारामा मात्र सीमित नहुने र त्यसले प्रभावकारी स्वरूप ग्रहण गर्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथिहरू ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, नेपाली सेना, भैरवी दल गणका सहायक गणपति सेनानी उज्ज्वल कार्की, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख, ईश्वरपुर नगरपालिकाका योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, नगरपालिकाका शिक्षा शाखाका अधिकृत दिनेश लुइँटेल, थारु कल्याणकारी सभा सर्लाहीका सभापति सूर्यनारायण चौधरी, समाजसेवी जयप्रकाश चौधरी लगायतको सहभागीता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक शिवनारायण चौधरीकाे सभापतित्वमा तथा शिवनारायण सिंहकाे व्यवस्थापनमा सम्पन्न कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति रहेकोे थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक मधुसुदन थापाले कार्यक्रम आयोजनाको अौचित्य र आवश्यकता बारे प्रस्ट्याएका कार्यक्रमको सञ्चालक शिक्षक सुमन घिमिरेले जानकारी दिए ।