सर्लाही, जेष्ठ -७, जिल्लाकाे लालबन्दीमा शिक्षकहरुका लागि ३ दिने आवासीय मनोसामाजिक स्याहार तथा सहयोग तालिम आइतवार (आज)बाट शुरु भएको छ ।
वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत शिक्षकहरुलाई तालिम दिइएको हाे ।
तालिमबाट शिक्षकहरुले मानसिक स्वास्थ्यको बारेमा बुझ्ने र मनोसामाजिक समस्याका लक्षण, कारण, असर तथा व्यवस्थापनका बारेमा जानकरी हाँसिल गर्ने आयाेजक संस्थाले जनाएको छ ।
तालिम पछि सहभागीले स्थानीयस्तरमा तनावमा रहेका परिवारलाई व्यवस्थापन गर्न सक्ने र जटिल केसहरु उदासिनता(depression), आत्महानी गरेका घटनाहरुलाई मनोविमर्शकर्ता, मनोविद, तथा मनोचिकत्सकलाई प्रेषण(सिफारिस) गर्न सक्ने छन् ।
तालिम पछि शिक्षक स्वयं मात्र लाभान्वित नभई घरपरिवारका सदस्य, विद्यालयमा विद्यार्थीहरु र मुख्य समस्यामा रहेकाहरूलाई भावनात्मक सहयोग प्रदान गर्दै, विद्यार्थीहरुको मनोसामाजिक स्वास्थ्यमा सहयोग पुग्ने र अन्ततोगत्वा यसले विद्यार्थीहरुको सिकाई उपलब्धिमा समेत फाईदा पुग्ने बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।
तालिममा पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका करिब २४ जना शिक्षकहरुको सहभागिता छ । तालिममा वरिष्ठ मनोविद विनोद पौडेले प्रशिक्षण गरेका छन् ।
तालिममा सहभागीलाई विभिन्न किसिमका अभ्यास, खेल, प्रशिक्षण,घट्ना छलफल विधिबाट सिकाइने प्रशिक्षक पौडेलले जानकारी दिए ।