सर्लाही,जेठ -६,काठमाण्डौँ विश्वविद्यालयकाे शाखा जिल्लाको लालबन्दीमा विस्तार हुने भएको छ । कृषि क्याम्पस संचालनका लागि विश्वविद्यालय र लालबन्दी नगरपालिकाबिच समझदारी भएको छ ।
शुक्रवार बालकुमारी ललितपुरस्थित स्कुल अफ म्यानेजमेन्ट परिसरमा लालबन्दी नगरपालिका काे तर्फबाट नगर प्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयकाे तर्फबाट रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारी अनुसार काठमाण्डौँ विश्वविद्यालयले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा प्राप्ति भएको ६ महिना भित्रै भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिए २ वर्ष भित्र अध्यापन सुरु गर्ने छ ।
विश्वविद्यालयले लालबन्दी नगर क्षेत्रकाे माध्यमिक तहका विद्यालयमा शैक्षिक सुधारका लागि पनि नगरसंग सहकार्य गरेर काम गर्ने समझदारी पत्रमा उल्लेख रहेको नगर प्रमुखका स्वकीय सचिव भानुभक्त बरालले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
लालबन्दी नगरले मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागि आवश्यक जग्गासहित अन्य सहयोग गर्ने समझदारी पत्रमा उल्लेख छ ।
नगरप्रमुख अधिकारीले लालबन्दीकाे बिकाशकाे लागि ५ मुख्य प्राथमिक निर्धारण गरेर काम गरेको बताए ।उनले काठमाण्डौँ विश्वविद्यालय संग सहकार्य गरेर स्नातक,स्नातकोत्तर तह सम्म अध्ययनका लागि कृषि क्याम्पस स्थापना,लालबन्दी दुम्जा सडक, सुविधा सम्पन्न नगर अस्पताल,ऐलानी जग्गा व्यवस्थापन र रंगशाला निर्माणकार्यलाई प्राथमिकतामा राखेर काम भइरहेकाे बताए । केहि नयाँ सुरुवात गरेर जान सके पछिल्ला दिनमा यस्ता कार्यक्रम र योजनालाई मुर्त रुप दिन सकिन्छ भन्ने लागेर नै आफुले काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्य गरेको बताए ।
समझदारी पत्र आदानप्रदानका क्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले लालबन्दी नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयलाई मधेशमा स्थापित गराउन सहकार्य गरेकोमा खुसि ब्यक्त गरेका स्वकीय सचिव बरालले जानकारी दिए ।