सर्लाही, बैशाख- ३१, नेपाल शिक्षक संघ सर्लाहीले नेपाल ट्रेड युनियन काँग्रेसको वैशाख ३० गते सम्पन्न सर्लाही अधिवेशन बदरको माग गरेको छ ।
विभिन्न ६ बुँदे आधारसहित नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष प्रवीण कुमार पासवानले वैशाख ३० गते शनिवार चन्द्रनगरमा सम्पन्न अधिवेशन बदर गर्न युनियनको राष्ट्रिय समितिलाई माग गरेका हुन् ।
अध्यक्ष पासवानले राष्ट्रिय समितिलाई पठाएको पत्रमा जिल्लाको अधिवेशन बदर गर्नु पर्ने आधारहरु बुँदागत उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘एक– जिल्लामा गठन नै नभएको र जिल्ला अधिवेशन सम्पन्न नभएको आवद्ध संस्थाहरुमो विधान विपरीत जाली सदस्यता प्रमाणिकरण गराएको, दुई– जिल्ला अधिवेशन सम्पन्न क्रियाशिल संस्था नेपाल प्रेस युनियन र नेपाल स्वास्थ्यकर्मी संघको सदस्यता प्रमाणीकरण नगराएको, तीन–जिल्ला कार्यसमितिको बैठक बिना नै मनोमानी जिल्ला अधिवेशनको समय निर्धारण गरेको, चार–ट्रेड युनियन प्रतिनिधिहरुलाई कम्तीमा ७२ घण्टाको समय नदिई १२ घण्टाभित्र जाली अधिवेशन सम्पन्न गर्ने समय तोकेको, पाँच– जिल्ला अधिवेशन सम्बन्धी क्रियाशील आवद्ध संस्थाहरुलाई जानकारी नगराएको र छ– नेपाल शिक्षक संघबाट नेपाल ट्रेड युनियन काँग्रेसको अधिवेशन प्रतिनिधि नै नभएकाहरुलाई विभिन्न पदमा छनौट गरेको ।’
संघले समितिका उपाध्यक्ष दिपेन्द्र यादव, सचिव विरन्ची प्रसाद साद, सहसचिव कृष्ण धमला, सहकोषाध्यक्ष पुजिता अधिकारी, सदस्य निर्मला ढकाल, केन्द्रीय प्रतिनिधि भाग्यनारायण मिश्र, सरोज कुमार सिंह, प्रदेश प्रतिनिधि लालबाबु रायसहित प्रतिनिधि नै नभएका ८ जनालाई समितिमा राखेको जनाएको छ ।
संघले प्रतिनिधि नै नपठाएकाहरुलाई समितिमा राखेर गरिएको अधिवेशनले आवद्ध संस्थाको मान सम्मानमा आँच आउने र सो विधानविपरीतको कार्य भएकोले वैशाख ३० गते सम्पन्न अधिवेशन बदर गर्न नेपाल शिक्षक संघ माग गरेको छ ।
यता मधेस प्रदेशमा ट्रेड युनियन अधिवेशन सम्पन्न गर्न प्रदेश कार्यसमितिले आफुलाई जिम्मेवारी ताेकेकाे भएपनि अधिवेशन गर्ने विषयमा आफुलाई कुनै जानकारीनै नगराइएकाे प्रदेश कार्य समिति सदस्य मदन बहादुर विश्वकर्मालाई बताए ।
अधिवेशनकाे मिति बारे बुझ्न आफुले पटक पटक फाेन सम्पर्क गर्दासमेत कार्यवाहक अध्यक्ष अनवारूल खाँले फाेन नउठाई एकतर्फी ढंगले अधिवेशन गरेकाले चाडैं पार्टीसंग समन्वय गरि समानान्तर समिति गठन गरिने प्रदेश समिति सदस्य विश्वकर्माले बताए ।
यसअघि नेपाल शिक्षक संघसहित नेपाल प्रेस युनियन सर्लाही र नेपाल स्वास्थ्यकर्मी संघ सर्लाहीले संयुक्त विज्ञप्ती जारी गर्दै ट्रेड युनियन काँग्रेसको अधिवेशन बहिष्कार गरेको घोषणा गरेका थिए ।