सर्लाही, वैशाख २२ – शुभकामना आदान प्रदानसहित वृहद साँस्कृतिक कार्यक्रम गर्दै २५६७औं बुद्ध जयन्ती सर्लाहीमा धुमधाम मनाइएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका ७ स्थित ईलाका हुलाक कार्यालय नजिकै बुद्ध जयन्ती धुमधामकासाथ मनाइएको हो ।
घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामा थिङको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद बेची लुङ्गेलीको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, ईश्वरपुर नगरपालिका मेयर मनोज कुमार आचार्य, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिन, हरिवनकी उपमेयर हरिमाया घलान तथा विभिन्न पार्टीका प्रतिनिधिहरुको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा गायक फुलकुमार बोम्जनले तामाङ सेलोसहित थुप्रै गितहरु प्रस्तुत गर्दै गितमार्फ सांसद तथा मेयर, उपमेयरसहित सर्वसाधारणलाई छमछम नचाएका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै, प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका बक्ताहरुले भगवान गौतम बुद्धले देखाएको बाटोमा हिड्न सके देशमा शान्ति छाउने बताए । उनीहरुले महामानव गौतम बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेकोले बुद्धको बाटोमा समाज लाग्नु पर्ने बताए ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट तामाङ भेषभूषासहित बौद्धधर्मावलम्बीहरु सहभागि भएका थिए । भगवान गौतम बुद्धको जन्म आज भन्दा २ हजार ५६७ वर्ष अघि अर्थात् इशापूर्व ५४३ मा हालको नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लामा भएको थियो । उहाँ जन्मिने वित्तिकै सात पाईला हिड्नु भएको थियो । ज्ञानको खोजीमा २९ वर्षको उमेर दरबार छोडेर हिड्नु भएका बुद्धले भारतको बोधगयामा महाज्ञान प्राप्त भएको थियो ।
आज नेपालसहित संसारका भारत, श्रीलंका, वर्मा, थाइल्याण्ड, लाओस, कम्बोडिया, चिन, भुटान, भियतना, जापान, कोरिया, मङ्गोलिया लगायतका देशहरुमा बुद्ध धर्म मान्ने गरिन्छ ।