सर्लाही, वैशाख–२१, पूजापाठ तथा विविध तामाङ्ग साँस्कृतिक कार्यक्रमसहित सर्लाहीमा भव्य मनाउन लागिएको २५६७औं बुद्धजयन्ती कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाको लालबन्दी बजारमा शुक्रवार आयोजना गर्न लागेको बुद्धजयन्ती कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएका घेदुङ सर्लाहीले जनाएको छ ।
शान्तिका प्रतीक महामानव भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र समाधि एकै दिन अर्थात वैशाख पूर्णिमाकै दिन भएकोले यस दिनलाई बुद्ध जयन्तीका रुपमा नेपालसहित विश्वभर मनाउने गरिन्छ । नेपाल तामाङ घेदुङ सर्लाहीले पनि हरेक वर्ष वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीलाई ठुलो चाडको रुपमा मनाउने गरेको छ । यसैक्रममा यसवर्ष पनि पूजापाठ तथा तामाङ साँस्कृतिक कार्यक्रमसहित लालबन्दीमा धुमधाम जयन्ती मनाउन लागिएको घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध लामा थिङले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा प्रमुख अतिथीको रुपमा बागमती प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाई मन्त्री तिर्थ बहादुर लामा आउने तय भएको छ। त्यस्तै तामाङ कलाकार फुलकुमार बोम्जन लगायतका कलाकारहरु पनि कार्यक्रममा आउने घेदुङ जिल्ला अध्यक्ष थिङले बताए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, पालिकाका प्रमुखहरु, पत्रकारहरु र वौद्धधर्मावलम्बीसहित अन्य महानुभावहरु पनि सहभागि हुनुहुने अध्यक्ष थिङले बताए ।
उनले आफू घेदुङको नेतृत्वमा आएसँगै आफू नेतृत्वकोे घेदुङ सर्लाहीको टीमले साँच्चै राम्रो कामहरु गरेर देखाउने प्रयासमा रहेको बताउदै बुद्ध जयन्तीका अवसरमा गरिने कार्यक्रम सफल बनाउन सबै क्षेत्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भगवान गौतम बुद्धको जन्म आज भन्दा २ हजार ५६७ वर्ष अघि अर्थात् इशापूर्व ५४३ मा हालको नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लामा भएको थियो । उहाँ जन्मिने वित्तिकै सात पाईला हिड्नु भएको,ज्ञानको खोजीमा २९ वर्षको उमेर दरबार छोडेर हिड्नु भएका बुद्धले भारतको बोधगयामा महाज्ञान प्राप्त भएको बाैद्ध ग्रन्थमा उल्लेख छ ।
आज नेपालसहित संसारका भारत, श्रीलंका, वर्मा, थाइल्याण्ड, लाओस, कम्बोडिया, चिन, भुटान, भियतना, जापान, कोरिया, मङ्गोलिया लगायतका देशहरुमा बुद्ध धर्म मान्ने गरिन्छ ।