सर्लाही,वैशाख -२०,बुटवल, अर्घखाँची र पश्चिम नवलपरासीका तीनजना महिला पत्रकारहरुले शुरु गरेको ‘महाकाली–मेची’ साईकल यात्रा बुधबार सर्लाही आईपुगेको छ ।
‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साईकल यात्रा’ भन्ने नारासहित बैशाख ६ गते कञ्चनपुरको गड्डाचौकीबाट शुरु भएको साईकल यात्रा यात्राको १५औं दिनको दिन बुधवार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो ।
राष्ट्रिय दलित पत्रकार संघ र समता मिडिया सेन्टरको आयोजनामा साईकल यात्रामा निस्किएका रेडियो नेपालकी बुटवल सहकर्मी रिता बुढाथोकी, रेडियो सुनवल पश्चिम नवलपरासीकी ईन्दिरा विश्वकर्मा र सामुदायिक रेडियो सगर्व, अर्घखाँचीकी संगीता नेपालीलाई सर्लाहीमा भव्य स्वागत गरिएको हो ।
उनीहरुलाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् दलित अगुवा कुश बहादुर विश्वकर्मा, नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य रामबाबु साह,नेपाली काँग्रेस सर्लाहीका उपसचिव इन्द्र बहादुर योन्जन,प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, दलित संघका भक्त बहादुर विश्वकर्मा, दलित अगुवा समीर बराईली, वडा नम्बर १३ का वडा सदस्य मोहन राउत, विकास बुढाथोकीले खादा ओढाई स्वागत गरेको क्रियाशील दलित पत्रकार संघ मधेश प्रदेशका महासचिव एवम प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष पत्रकार सोम दियालीले बताए ।
साईकल यात्री महिला पत्रकारहरुको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै दलित अगुवा कुशबहादुर विश्वकर्मा लगायतका महानुभावले साईकल यात्रा मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेकोप्रति खुशि व्यक्त गर्दै यात्रा सफलताको शुभकामना दिए ।
परिचयात्मक कार्यक्रममै साइकल यात्री पत्रकार रिता बुढाथोकीले नेपाली समाज सबैखाले विभेदले जकडिएकोले त्यसको अन्त्यका लागि भन्दै आफूहरुले महाकाली मेची साईकल यात्रा शुरु गरेको बताईन् ।
उनले यात्राको क्रममा सबैको साथ र समर्थन पाएको भन्दै खुशि व्यक्त गरिन् । उनले सर्लाहीमा प्राप्त न्यानो स्वागत सम्मानले यात्रामा थप हौसला मिलेको बताईन् ।