सर्लाही,बैशाख–१९,जिल्ला प्रशासन कार्यालय मलंगवाकाे सेवा प्रवाह अवरुद्ध भएको छ । मंगलवार बिहान भएको आगलागीकाे कारण सेवा प्रवाह बन्द भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार विद्युत् सर्ट हुदा कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको हो ।
मंगलवार बिहान ५:४० बजे आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेकोे छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ ।
आगलागीबाट कम्प्युटरलगायतका विद्युतिय उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको डाटा’ सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । आगलागीबाट कार्यालयको सवै वाइरिङ जलेकाले सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
पुनः वाइरिङको काम भएपछि सेवा सूचारु हुने जिल्ला प्रशासन कार्यालय मलंगवाम जनाएको छ । वाइरिङको काम गर्न बुधबार सम्म लाग्ने र त्यस पछि सेवा सुचारु हुने छ ।